‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य



चलचित्र ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’मा विजय बराल र अञ्जना बराइली

काठमाडौं । विजय बराल र अञ्जना बराइली अभिनीत चलचित्र ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको छ । प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द र प्रशान्त सिवाकोटीकै संगीत छ ।

प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासनका भाव समेटिएका छन् । प्रेममा परेका युवायुवतीले इसाराइसारामै मनका कुरा पोख्दै जीवन एकअर्कालाई समर्पित गरेको प्रसंग गीतमा छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीको आकर्षक नृत्य छ ।

सरोज पौडेलको निर्देशन रहेको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जनाको यो दोस्रो सहकार्य हो । यसअघि यही टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतको अभिनय छ ।

निर्देशक पौडेलकै कथा रहेको चलचित्रको लेखन सबिन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता, अनिश अधिकारी लाइन निर्माता र दिनेश खड्का कार्यकारी निर्माता छन् ।

चलचित्रको छायाङ्कन पदमबहादुर श्रेष्ठ (बाबु), सम्पादन सुरेन्द्र पौडेल र क्रिएटिभ निर्देशन विशाल घिमिरेले गरेका हुन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत छ ।

मंसिर १८ गते प्रदर्शन हुने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu