‘पाँच पाण्डव’ आजदेखि प्रदर्शनमा, निर्देशक निरौला भन्छन्– दोस्रो दिनबाटै शो थपिन्छन्



चलचित्र ‘पाँच पाण्डव’को पोस्टर

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । निर्माण पक्षले वर्षकै प्रतीक्षित भनेर दाबी गरेको चलचित्र सन्तोषजनक शोसहित दर्शकमाझ पुगेको हो ।

“बलिउडको ठूलो सिनेमा आएकाले हाम्रो सिनेमाले पाएको शोलाई सन्तोषजनक मान्नुपर्छ,” निर्देशक बसन्त निरौला भन्छन्, “तर हाम्रो सिनेमा राम्रो भएकाले दोस्रो दिनबाटै हलहरूले शो थप्दै जानेमा हामी पूर्ण रूपमा ढुक्क छौँ ।” चलचित्रको विषय र प्रस्तुतिलाई दर्शकले मन पराउनेमा आफू निश्चिन्त रहेको उनले बताए ।

चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत मुख्य भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) को पनि मुख्य भूमिका छ ।

काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । श्रेष्ठले गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । उनका अनुसार यो सामाजिक नाटकीय चलचित्र हो, जसले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा भन्छ ।

चलचित्रको छायांकन श्याम तामाङले गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन तथा रङ सम्पादन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरले नृत्य निर्देशन, अर्जुन पोखरेलले संगीत, उत्तम न्यौपानेले ध्वनि संरचना, सुजिल कर्माचार्यले पार्श्व संगीत र पुकार धिमालले भिएफएक्स गरेका छन् । रोहितराज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन् ।

दर्शकले चलचित्रमा डल्बी एटमस ध्वनिको अनुभव लिन पाउनेछन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले चलचित्र देशभर वितरण गरेको हो भने ओएसआर डिजिटल डिजिटल साझेदार छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu