सलमान खानको खुट्टा ढोगेर अनुप विक्रम शाही चर्चामा, मुम्बईमा ‘मातृभूमि’को ट्रेलर सार्वजनिक



मुम्बईमा ‘मातृभूमि’को ट्रेलर सार्वजनिक कार्यक्रममा सलमान खानको खुट्टा ढोग्दै अनुप विक्रम शाही

काठमाडौं । नेपाली अभिनेता अनुप विक्रम शाहीले बलिउड सुपरस्टार सलमान खानको खुट्टा ढोगेको दृश्य अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ। सलमान अभिनीत फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलर सार्वजनिक गर्न शुक्रबार मुम्बईमा आयोजित कार्यक्रमका क्रममा उक्त दृश्य कैद भएको हो।

यो फिल्मबाट अनुपले बलिउडमा पहिलो पाइला टेक्दैछन्। फिल्ममा उनी चिनियाँ जनमुक्ति सेनाका एक मेजरको भूमिकामा देखिनेछन्। सलमानसँग उनको करिब १३ मिनेट लामो एक्सन दृश्य रहेको बताइएको छ। फिल्म आगामी मंसिर १८ (डिसेम्बर ४) मा प्रदर्शन हुँदैछ।

ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन अनुप नेपालबाटै मुम्बई पुगेका थिए। कार्यक्रम सुरु हुनुअघि सलमानसहित फिल्मका मुख्य कलाकार फोटो खिचाउन जम्मा भएका थिए। सोही बेला अनुपले सलमानसँग भेट्दा उनको खुट्टा ढोगेका थिए।

भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एउटा भिडियोमा अनुपलाई देखेपछि सलमानले हात बढाएको र अनुप भने सिधै उनको खुट्टा छुन पुगेको देखिन्छ। त्यसलगत्तै अनुप अंकमाल गर्न अघि सर्दा सलमानले पनि आत्मीयता देखाएका छन्। उक्त क्षणमा दुवैबीच कुराकानी भने भएको देखिँदैन।

अर्को भिडियोमा सलमान अनुपको कानमा केही भनिरहेका देखिन्छन्। अनुपको हाउभाउ हेर्दा सलमानले उनको प्रशंसा गरेको अनुमान गरिएको छ। सलमान बोलिरहँदा अनुपले दुई पटक छातीमा हात राखेर आभार व्यक्त गरेका थिए। सलमानको छेउमा उभिँदा अनुप निकै नर्भस देखिएका थिए।

केही समयअघि एक अन्तर्वार्तामा अनुपले सलमानसँग काम गर्ने अवसरलाई जीवनकै अविस्मरणीय क्षण बताएका थिए। सानैदेखि पर्दामा हेर्दै आएका कलाकारसँग एउटै फिल्ममा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu