
काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को पहिलो पोस्टर (फर्स्ट लुक) सार्वजनिक भएको छ । मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको पोस्टरमा मुख्य भूमिकाका विजय बराल र अञ्जना बराइली रोइरहेको देखिन्छ ।
पोस्टरमा विजयको छातीमा टाँसिएर अञ्जना रोइरहेकी छन् भने विजयका आँखामा पनि आँसु छ । गाउँले परिवेशका यी पात्र कुनै मेला वा जात्रामा पुगेको पोस्टरबाट अनुमान गर्न सकिन्छ । सफा लुगा लगाएर सजिएको यो जोडीमध्ये बुलाकी, नौगेडी र माडवारी लगाएकी अञ्जनाको पहिरनले उनी मध्यमवर्गीय परिवारकी छोरी वा बुहारी रहेको संकेत गर्छ ।
पोस्टरको पृष्ठभूमिमा मन्दिर र त्यहाँ जम्मा भएको भीड देखिन्छ । जात्रा हेर्न गएको जोडी कुनै संकटमा परेको पोस्टरले झल्काउँछ । अञ्जनाको अस्तव्यस्त कपालले उनको पात्रमाथि जबरजस्तीको प्रयास भएको आशंका जगाउँछ । शीर्षकअनुरूपको रङ प्रयोग गरेर पोस्टरले चलचित्रको मुड देखाउन खोजेको छ ।
‘सिन्दुरे जात्रा’ सरोज पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा बक्सअफिसमा सफल जोडी विजय बराल र अञ्जना बराइली छन् । यो टिमको दोस्रो सहकार्य हो । यसअघि यही टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतको अभिनय छ ।
चलचित्रको कथा निर्देशक पौडेल स्वयंको हो भने लेखन सबिन अधिकारी र वसन्त न्यौपानेको हो । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता र अनिश अधिकारी लाइन निर्माता छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) छायांकन निर्देशक, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे सिर्जनात्मक निर्देशक छन् । प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारले संगीत दिएका छन् ।
चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर साझेदार र ओएसआर डिजिटल डिजिटल साझेदार छन् ।




