काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘कस्तुरी’ को अन्तिम चरणको छायाङ्कन सुरु भएको छ। शुक्रबारदेखि काठमाडौंबाट चलचित्रको बाँकी छायाङ्कन थालिएको निर्माण टिमले जानकारी दिएको छ।

निर्माण टिमका अनुसार चलचित्रको ९० प्रतिशत छायाङ्कन सकिइसकेको छ। बाँकी १० प्रतिशत छायाङ्कन पनि छिट्टै सक्ने योजनामा टिम छ। प्रतिकूल परिस्थितिका कारण केही समय ढिलाइ भएको चलचित्रको काम अब भने चुस्त गतिमा अघि बढ्ने टिमले बताएको छ।
ऋत बोहोराले निर्देशन गरेको चलचित्रमा वर्षा र निखिलसँगै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमले अभिनय गरेका छन्। ‘क्यामियो’ भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिनेछन्।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनिरहेको चलचित्रको पटकथा बोहोराले नै लेखेका हुन्। निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह-निर्माता अञ्जली चौधरी हुन्। छायाकार आलोक शुक्ला र सहायक निर्देशक ललित विष्ट छन्। सङ्गीत प्रशान्त सिवाकोटीको हो भने निर्माण व्यवस्थापन दिलीप पन्तले हेर्नेछन्।


