२०७१: फ्लपकै वर्चस्व



Writer: Bijay Ratna
Writer: Bijay Ratna

विजयरत्न। “नाई नभन्नु ल २” को रिलिज सँगसँगै वि.सं. २०७० को अन्त्य भएको थियो भने “नाइ नभन्नु ल ३” को रिलिज सँगसँगै २०७१ सालको फिल्म रिलिज क्रम समाप्त भएको छ । वि.सं. २०७१ को अन्तिम शुक्रबार प्रदर्शित सेतो बाघ, हवल्दार सुन्तली र नाइ नभन्नु ल ३ समेत यो वर्ष कूल पचासी वटा नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । २०७० सालको अन्तिम शुक्रबार रिलिज भएको “नाई नभन्नु ल २” त्यस वर्ष प्रदर्शित एक सय वटा चलचित्रहरु मध्ये सफलतम् मानिएका ६ वटा चलचित्रहरु मध्ये एक हुने अवसर पाएको थियो । वि.सं. २०७० सालका अन्य सफलतम चलचित्रहरुमा काली, ६ एकान ६, महसूस, झोला र होस्टेल थिए भने वि.सं. २०७१ सालमा पनि केवल ६ वटा चलचित्रहरु मात्रै सफलतम् चलचित्रको रुपमा अगाडि आउन सफल भएको छ । ती ६ वटा चलचित्रहरु मध्ये “होस्टेल” निर्देशन गर्ने हेमराज बि.सी. कै निर्देशन रहेको “जेरी” पनि एउटा पर्न आउँछ । “होस्टेल” को सफलतामा अनमोल के.सी.को ठूलो भुमिका रहेको छ भनिए जस्तै “जेरी”को सफलतामा पनि उनै उदियमान नायक अनमोल के.सी. प्रति दर्शकको बढ्दो अभिरुची हो भनिएको छ ।

वि.सं. २०७१ का अन्य सफल चलचित्रहरुमा “हिम्मतवाली”, “पुनर्जन्म”, “नोभेम्बर रेन”, “कबड्डी” र “कोहिनूर” प्रमुख हुन् । “कोहिनूर” नेपाली चलचित्र जगतमा सर्वाधिक आर्जन गरेको कीर्तिमान कायम गर्न सफल चलचित्र हो । “कोहिनूर” हेर्न ओइरिएका दर्शकहरु भनेको त्यो चलचित्र राम्रो छ वा छैन भन्ने हेर्नका लागि नभई आफ्ना प्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको असामयिक निधनबाट स्तब्ध भई अन्तिम दर्शन गर्न आएका दर्शकहरु हुन् । प्रौढ हुँदै गएको उमेरसम्म विवाह नगरी बसेका अभिनेता श्रीकृष्ण श्रेष्ठको असार २३ गते शुभ विवाह सम्पन्न हुनु अनि विवाह भएकै दिनदेखि थला परेका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको “कोहिनूर” रिलिज भएको दोस्रो दिन श्रावण २४ गते आकस्मिक निधन हुन पुगेको थियो । यसरी एकातिर श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का बीच लामो समयसम्म चलेको प्रणय सम्बन्ध पश्चात विवाह सम्पन्न हुँदा सबै खुशी भएका थिए भने अर्कोतिर विवाह सम्पन्न भएको एक महिना मै श्रीकृष्ण श्रेष्ठको असामयिक निधन हुादा सबै शोकले स्तब्ध हुन पुगेका थिए ।

वि.सं. २०७१ लाई फर्केर हेर्ने हो भने यो साल नेपाली चलचत्रि जगतले धेरै आरोह र अवरोह भोगेको देखिन्छ । यो साल प्रदर्शित धेरै जसो चलचित्रहरु व्यावसायिक रुपमा घाटामा गएको देखियो । तर पनि चलचित्रको निर्माण संख्यामा कुनै किसिमको ह्रास आएको भने देखिंदैन । व्यावसायिक रुपमा सफल चलचित्रहरुको चर्चा पछि वर्षका सबैभन्दा असफल मानिएका चलचित्रहरुको चर्चा गर्नु सान्दर्भिक नै देखिन्छ । त्यस्ता चलचित्रहरुमा अभिनेताबाट निर्देशक बनेका अर्पण थापाको “मुखौटा”, लुट जस्तो सर्वाधिक सफल मानिएको चलचित्रका निर्देशक निश्चल बस्नेतको दोस्रो चलचित्र “टलकजंग भर्सेस टुल्के” अनि होस्टेल र जेरी जस्ता सफल मानिएका चलचित्रहरुका निर्देशक हेमराज बि.सी. को “सम्बोधन”, हल व्यवसायी तथा विदेशमा चलचित्र निर्देशन सम्बन्धी प्रशिक्षण प्राप्त गरेका भाष्कर ढुंगानाको “सुन्तली”, सिक सिटी जस्तो प्रशंसित चलचित्र बनाएका विदेशी निर्देशक मुरे केरको “ताण्डव”, सुरज सुब्बा नाल्बो निर्देशित बहु चर्चित चलचित्र “वन वे”, धेरै भन्दा धेरै च्यारीटी शो गरेर चर्चा बटुलेको ईतिहासको एक सत्य घटनामा आधारित “भिमदत्त” लगायत विश्व कै कान्छो निर्देशकको रुपमा किर्तिमान कायम गराउन सफल आठ वषिर्य बालक सौगात विष्टको “लभ यु बाबा” जस्ता चलचित्रहरुले प्रदर्शन पूर्व पाएको चर्चा र अपेक्षालाई पुरा गर्न नसकेका चलचित्रहरु हुन् । “माला”, “आभाष”, “बिर्खेलाई चिन्छस्” जस्ता चलचित्रहरु पनि प्रदर्शन पूर्व अत्यन्त चर्चामा आएका चलचित्रहरु हुन् तर व्यावसायिक रुपमा भने अगाडि आउन सकेनन् ।

cinema-2071
यो वर्ष सौगात विष्टले विश्वको सबैभन्दा कान्छो निर्देशकको कीर्तिमान गरे भने कञ्चन शाही नाम गरेका एक उत्साही चलचित्रकर्मिले एउटा चलचित्र भित्र विभिन्न सत्र विधामा आफु एक्लैले काम गरेर अनौठो साहस देखाएका छन् । “अनौठो प्रेमकथा” शिर्षकको यस चलचित्रमा कञ्चन शाहीले कथा, पटकथा, सम्वाद लेखन गरी तीन विधाको साथमा निर्देशन, सम्पादन, कला निर्देशन, गीत रचना, नृत्य निर्देशन, थ्री डि एनिमेशन, प्रचार सामग्री डिजायनको साथमा प्रमुख अभिनेताका रुपमा अभिनय समेत गरेका थिए ।

यो वर्ष धेरै कलाकर्मिहरुको शुभ विवाह सम्पन्न भएको वर्षको रुपमा रहृयो । अधवैँशे उमेरमा पुगिसकेका अझ भनौँ भने अब विहे नै गर्दैन होला जस्तो अवस्थामा पुगी सकेका अभिनेता राजेश हमाल र अभिनेत्री मिथिला शर्मा समेतको विवाह यसै वर्ष सम्पन्न भयो । राजेश हमालले आफुभन्दा भण्डै बीस बाइस वर्ष कम उमेर कि मधु भट्टराईसित विवाह गरे भने मिथिला शर्माले आफुभन्दा बीस पच्चीस वर्ष जेठो पुरुष मोतिलाल बोहोरासित विवाह गरे । युवा कलाकारहरु मध्ये आर्यन सिग्देलको पनि यसैवर्ष विवाह सम्पन्न भयो । अभिनेता सिग्देलले आफ्नी प्रेमिका सपना भण्डारीसित विवाह गरे । “नाईँ नभन्नु ल”बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी ऋचा सिंह ठकुरीले अष्ट्रेलियामा बस्दै आएका गजेन्द्रराज थापासित विवाह गरीन् भने अभिनेत्री दीया मास्के र रंगकर्मी एवं अभिनेता अनुप बराल बीच लामो समयदेखि चल्दै आएको प्रेम पनि यसै वर्ष विवाहमा परिणत भयो । नायिका श्वेता भट्टराईले यसै वर्ष मिलन सापकोटासित विवाह गरीन् भने “होस्टेल” बाट चलचित्र जगतमा प्रवेश गरेकी प्रकृति श्रेष्ठले पनि गैर आवासीय युवक सुदीप न्यौपानेसित विवाह गरीन् । यसलाई एउटा सञ्जोग नै मान्नु पर्दछ कि नेपाली चलचित्रका नायिकाहरुको रोजाई अक्सर विदेश मै बस्दै आएको नेपाली हुने गरेको छ । जल शाह, सज्जा मैनाली, युना उप्रेती, रेजिना उप्रेती, पुजा चन्द जस्ता धेरै नायिकाहरुले पनि विदेश मै बसेका नेपाली युवकहरु रोजेका थिए भने नायिका सुमिना घिमिरेले रोशन सापकोटा लाई आफ्नो दुलाहा रोजिन् । यस्तै गरी झरना बज्राचार्यले मलेसियामा बस्दै आएका भारतीय मूलका व्यवसायी राहुल अग्रवाललाई रोजिन् ।

यो वर्ष धेरै विवाहहरु भए जस्तै चलचित्र अवार्डहरुको संख्या पनि यो वर्ष अरु वर्षभन्दा धेरै नै भएको पाइयो । २०७१ जेठ ३ गते बक्स अफिस फिल्म अवार्डबाट शुरु भएको यो वर्षको चलचित्र अवार्डको यात्रामा ओफा फिल्म अवार्ड, छैंठौं डि सिने अवार्ड, सातौं नेफ्टा अवार्ड सम्पन्न हुनुका साथै विगत चार वर्षदेखि अड्कीँदै आएको राष्ट्रिय चलचित्र पुरस्कार पनि यो वर्ष सम्पन्न भयो । यो वर्ष एकै पटकमा चारै वर्षका पुरस्कारहरु बाँडियो भने गोपीकृष्ण मुभिज र नेपाल चलचित्र विकास कम्पनीको तत्वावधानमा एन एफ डि सी राष्ट्रिय चलचित्र पुरस्कारको दोश्रो संस्करण र चलचित्र क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल पत्रिका “कामना”को आयोजनामा यसै वर्षदेखि सिजी कामना फिल्म अवार्ड पनि आरम्भ गरिएको छ । यसै वर्षदेखि निर्देशक दीपक श्रेष्ठको सकृयतामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र पुरस्कारको रुपमा इन्फा (इन्टरनेशनल फिल्म एकेडेमी) अवार्ड पनि आरम्भ भएको छ र पहिलो पटक यो वर्ष हङ्गकङ्गमा प्रदान गरिएको थियो भने अगामी वर्षहरुमा अन्य देशहरुमा पुरस्कार कार्यक्रम आयोजना गर्ने घोषणा गरिएको छ ।

यी सुखद खबरहरुका साथै यो वर्ष केही दुःखद घटनाहरु पनि हुन पुगे । लोकपि्रय अभिनेता श्रीकृष्ण श्रेष्ठको विवाह सम्पन्न भएको एक महिना पछि दुःखद निधन भयो भने अहिलेका चर्चित एवं व्यस्त छायाँकार पुरुषोत्तम प्रधानकी श्रीमती अनुको विवाह भएकेा चौध महिनापछि दुःखद निधन भयो । यस्तै गरी निर्माता राजेन्द्र थापा र निर्माता नारायण खतिवडा पनि यही साल संसारबाट बिदा भए भने सानो संसार, कोही मेरो र अझै पनि का निर्देशक आलोक नेम्बाङ्गको आत्महत्या पनि २०७१ को एउटा दुःखद घटना हुन पुग्यो । नेपाल भाषाको प्रथम चलचित्र “सिलु”का निर्देशक प्रदिप रिमाल अनि यसै चलचित्रका लेखक देव रञ्जितको पनि यसै वर्ष निधन भयो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu