अनमोल भन्छन्, ‘पछिल्लो फिल्मले ठुलो पाठ सिकायो, व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा गम्भीर छु’




काठमाडौँ। अभिनेता अनमोल केसीले आफू कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निकै गम्भीर रहेको बताएका छन्। सोसल मिडियामा एक पोस्ट लेख्दै केसीले आफूले पछिल्लो चलचित्रबाट ठुलो पाठ सिकेको बताएका छन्।

उनको पछिल्लो चलचित्र ‘छड्के २’ हो। सो चलचित्र हल रिलिजमा ‘डिजास्टर’ भएको थियो। सो चलचित्रमा अनुबन्ध हुने समयमा राम्रो चलचित्र बन्ने भन्ने लागेर काम गरेका उनले सोचे विपरीत भएपछि दर्शकसँग माफी समेत मागेका थिए।

पोस्टमा केसीले दर्शकको मायालाई अमूल्य सम्पत्ति ठान्ने जनाएका छन्। उनले मेकरको लगानी सुरक्षालाई पनि उत्तिकै ध्यान दिने गरेको र आफू माथि गर्ने लगानी केवल आर्थिक अङ्कगणित नभई, एउटा व्यावसायिक विश्वास भएको र यो विश्वास भङ्ग हुन नहुने बताएका छन्। 

उनले लेखेको पोस्ट यस्तो छ :

‘होस्टेल’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेदेखि मैले मेकर तथा दर्शकहरूबाट अथाह माया पाइरहेको छु। मैले यो मायालाई आफ्नो अमूल्य सम्पत्ति ठान्छु। त्यसैले कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई रिझाउनुपर्छ भन्ने कुरालाई हृदयमा सधैँ राख्ने गरेको छु। त्यसैले म मेरो काम कमजोर नहोस् भन्ने कुरामा सदैव सजग रहने गरेको छु । मैले यसो गरिरहँदा मैले मेकरको लगानी सुरक्षालाई पनि उत्तिकै ध्यान दिने गरेको छु । म माथि उहाँहरूले गर्ने लगानी केवल आर्थिक अङ्कगणित होइन, एउटा व्यावसायिक विश्वास हो र यो विश्वास भङ्ग हुनुहुँदैन ।मेरो पछिल्लो फिल्मले मलाई ठुलो पाठ सिकाएको छ । कलाकारको धर्म र सजगता पनि के हो राम्रोसँग बुझाएको छ । सबैभन्दा ठुलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो ।म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भीर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तब सम्म फिल्म गर्न हतार गर्ने छैन चाहे यसका लागि विलम्ब नै किन नहोस् , अबको मेरो एक मात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब म माथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु ।किनकि मलाई लाग्छ मैले यति गर्न सके भने मात्र म एक सच्चा कलाकार ठहरिनेछु। यसले मलाई व्यक्तिगत रूपमा त राम्रो गर्छ नै म माथि भरोसा गरेर लगानी गर्ने निर्माताहरू माथि पनि भलो नै हुन्छ । यसले सिनेमा निर्माणको व्यावसायिकता र यो क्षेत्र कति घनिभूत छ भन्ने कुरालाई स्थापित गर्छ र यसमा हामी सबै गम्भीर हुन जरुरी छ। नोट: मेरो अब आउने प्रोजेक्टहरू आधिकारिक पेजबाट घोषणा नभएसम्म अनधिकारिक रूपमा सम्प्रेषण नगरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu