ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित व्यक्तिहरुलाई सहयोग गर्ने हेतुले नयाँ पत्रिका राष्ट्रिय दैनिकले कलाकार र राजनीतिक दलका नेताविच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्ने भएको छ । नेता र कलाकार वीचको मैत्रीपूर्ण फूटबलबारे जानकारी दिन वुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो कुराको जानकारी दिइएको हो ।
आगामी जेठ २३ गते शनिबार साँस्कृतिक कार्यक्रमसहितको फुटबल तथा साँस्कृतीक कार्यक्रमको आयोजना गरिने बताइएको छ । पत्रिकाका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सम्पादक कृष्णज्वाला देवकोटाले मैत्रीपूर्ण फुटबलसँगै ‘मेचीकाली हाँस्यव्यङ्ग्य सांगीतिक कार्यक्रम’ सहित भूकम्पपीडितलाई सहयोग उठाउन लागिएको जानकारी दिए । कार्यक्रमका लागि टिकट बेचिने र उठेको सबै रकम भूकम्पपीडितलाई दिइने जनाइएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई निमन्त्रणा गरिएको अध्यक्ष देवकोटाले जानकारी दिए । अध्यक्ष देवकोटाले प्रधानमन्त्री शुशिल कोइरालालाई काउन्टरमा बसेर टिकट बेचिदिन पनि आग्रह गरेका छन् ।
पूर्वको काँकडभिट्टाबाट सुरु भएर सांगीतिक यात्रा काठमाडौंमा आएर असार ३ गते टुङ्गिनेछ । उक्त फुटबल तथा सांस्कृतीक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले सहभागीता जनाउने छन् भने देशका र्शिष नेताहरु पनि सहभागी हुने कार्यक्रम रहेको छ । गगन थापा, रविन्द्र अधिकारी, वर्षमान पुनले फुटबल खेल्ने छन् । त्यस्तै दिपकराज गिरी, करिश्मा मानन्धर, कोमल वली, दीपाश्री निरौला, नवल खड्का, दयाहाङ राई, हाँस्य कलाकार जितु नेपाल, सिताराम कट्टेल, किरण केसी, गायिका कोमल वली लगायत उक्त कार्यक्रममा सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा नायिका करिश्मा मानन्धर, हाँस्य कलाकार दीपाश्री निरौंला, एमाले नेता रविन्द्र अधिकारी, काग्रेस नेता गगन थापा, माओवादी नेता बर्षमान पुन, अभिनेता दयाहाङ राई लगायतका कलाकारहरु सगैं नेताहरु उपस्थित भएका थिए ।
कार्यक्रममा बोल्दै गायिका कोमल ओली, जितु नेपाल, सिताराम कट्टेल, किरण केसी, करिश्मा मानन्धर लगायतले कलाकार र राजनितिक दलका नेताविच हुने फुटबल प्रतियोगीताले संकटको बेला सबै एक भएको सन्देश पनि जनताका कहाँ जाने बताए थिए । उनीहरुले यो खेलबाट भूकम्पले पुराएको मनौबैज्ञानिक त्रास पनि कम हुने विश्वास व्यक्त गरेका थिए ।