अहिले मात्र होइन, मिडियाकर्मीबाट अभिनेत्री नीता ढुंगाना पहिल्यैदेखि टाढा रहने गरेकी थिइन् । उनी अभिनीत ६ एकान ६ सुपरहिट भए पनि अधिकांश मिडियाकर्मीले उनको चर्चा गरेनन् ।
प्रिमियर सोमा टिभी, क्यामेराहरूले अन्य कलाकार, निर्माता, निर्देशकलाई कुनाकानी च्यापेर ‘बाइट’ लिए पनि प्रमुख हिरोइन नीतालाई भने बेवास्ताजस्तै गरे । सोमबार पनि त्यही दृश्य दोहोरियो । मार्कोपोलो होटेलमा नीता हिरोइन बनेको पहिलो सिनेमा ‘चाँडै आऊ है’को प्रेसमिट थियो । प्रेसमिट सकियो । अन्य कलाकार, निर्मातासँग सञ्चारकर्मीले कुराकानी गरे, निकटता साँधे । तर, नीता भने एक्लै परिन् ।
लन्च टाइममा पनि उनी एक्लै थिइन् । आखिर किन पर्छिन् नीता एक्लै ? एकजना सञ्चारकर्मी फ्याट्ट बोले, ‘व्यवहार । अरू वेलामा कोही चाहिन्नजस्तो गर्ने, अहिले उसलाई चाहिएको वेलामा को आओस् त ?’ हुन पनि, नीता सञ्चारकर्मीसँग दूरीमै बस्ने गरेकी छिन् । खास कारण के हो, त्यो भने पत्ता लागेको छैन । पछिल्लो समय आफ्नै फिल्मका निर्देशक दिनेश डिसीसँग पनि उनको खटपट परेको कुरो उनी र उनका जोडी अमेश भण्डारीका फेसबुक स्टाटसले प्रस्ट्याएका छन् । आखिर नीता किन एक्लिन चाहन्छिन्, त्यो भने सोचकै विषय बनेको छ । नयाँ पत्रिका दैनिकबाट