स्क्रिन टेस्टको लागि ताँती लामै थियो। नायिका बन्ने ठूलो प्यासन झल्किन्थ्यो सबैका अनुहारमा। तीमध्ये एक सुन्दर युवतीले धेरैको ध्यान तानिरहेकी थिइन्। कलाकार बन्नेभन्दा पनि ‘ट्राई मारौं न त’ भन्ने मनसायले आएकी गौरी मल्ल पनि ती सुन्दर युवतीको सौन्दर्य देखेर नतमस्तक थिइन्। ‘उनी थिइन् करिश्मा मानन्धर’ शनिबार दिउँसो एउटा कार्यक्रममा गौरी मल्लले विगत सम्झिन्।
Click Here to Watch Entertaining Videos
फिल्म ‘सन्तान’ को स्क्रिन टेस्टमा गौरी र करिश्मा सँगै थिइन्। करिश्मालाई देखेर गौरी हच्किएकी थिइन् रे। फिल्म निर्माण टिमले पनि उस्तै गरी हच्किन खोज्दै थिए गौरीको हकमा। आर्मीकी छोरी नाइँ भन्नु पनि कसरी ? तैपनि निर्माण टिमले गौरीलाई हटाउने नै जुत्तिले आवश्यकताभन्दा बढी लामो संवाद पढ्न लाए। गौरीले तम्बेतान संवादलाई यसरी सुनाइन् कि उनको प्रतिभाले निर्माता र निर्देशकको मनस्थितिमै परिवर्तन ल्याइदियो।
संवाद बिगार्न लाएर स्क्रिनबाट ‘आउट’ गराउने उद्देश्य पूरा गर्ने मौका गौरीले दिइनन्। त्यसको केही समयपछि सोही फिल्मको सम्झौता पत्रमा हस्ताक्षर गर्ने दिन आयो। सम्झौता पत्रमा पहिलो नायिका गौरी र दोस्रोमा करिश्मा लेखियो। ‘अझ ८ हजार पारिश्रमिकसमेत तोकिएको कन्ट्रयाक्ट पेपर पढेपछि त म खुसी र डरले पसिनै पसिना भएँ,’ गौरी सुनाउँदै थिइन्, ‘विश्वास नलागेर धेरैपटक कन्ट्रयाक्ट पेपर पढेँ। नायिका हुने भन्ने कुराले नै अनौठो महसुस गराइरहेको थियो र डर पनि।’
पहिलो तलबको रूपमा पाएको ८ हजाररुपैँया चाहिँ उनले आमालाई चोखै लगेर दिइन्। वर्षमा मुस्किलले एउटा र दुइटासम्म फिल्म बन्ने उस बेला गौरी एक वर्षसम्म यत्तिकै बस्नुपर्यो। घरमा छोरोको भूमिका निर्वाह गर्नुपर्ने हुँदा उनी स्कुल पढाउनेदेखि प्रज्ञा प्रतिष्ठानमा जागिरसमेत खान भ्याइरहेकी थिइन्। ‘कन्यादान’ फिल्म खेलेपछि भने गौरीले करिअरले फन्को मार्यो। ‘यो मेरो जीवनको टर्निङ प्वाइन्ट थियो,’ उनले अतीत सम्झिन् भन्दै आइतबार कान्तिपुरले समाचार लेखेको छ ।
नेपाली फिल्म उद्योगमा बिताएको तीन दशक अनुभवलाई गौरीले शिल्पी थिएटरको गोठाले नाटकघरमा दर्शकमाझ सुनाइरहेकी थिइन्। अनियन फिल्मस् र शिल्पीले गरेको ‘मुभी क्लबस्’ मा गौरी नोस्टाल्जिक बनिरहेकी थिइन्। उनलाई सुन्नेहरू पनि रमाइलो महसुस गरिरहेका थिए। गौरीले परिवारबाटै आफ्नो कथा खोल्दै गइन्। बुबा आर्मी भएकाले छोरी पनि यसै क्षेत्रमा लागोस् भन्ने परिवारको चाहना थियो रे। छोरा नभएपछि उनले बुबाको विचारमा समर्थन पनि जनाएकी थिइन्। उस बेला कसरी आर्मीमा केटी मान्छे भर्ना हुने ? एउटै उपाय थियो– नर्स या डाक्टर बनेर। ‘नर्सिङ पढ्ने सोच पनि बनाएकी थिएँ,’ गौरीले भनिन्, ‘तर एसएलसीमा पर्याप्त अंक आएन। र, नर्सको चाहना बीचैमा रोकियो।’
गीत गुन्गुनाउन मन पराउने गौरीकै पारिवारिक माहोलबीच सम्पर्कमा आइन्, वसुन्धरा भुसाल। उनैद्वारा फिल्मसम्म तानिएकी थिइन् गौरी। ‘दिदीले एउटा फिल्मका लागि नायिका खोजिहरेको छ भनेर नसुनाउनुभएको भए कसरी स्क्रिन टेस्ट गर्न जान्थें र ?’ उनले भनिन्, ‘फिल्म खेल्दासम्म पनि विश्सास नै थिएन कि म नायिका बन्दै छु भनेर।’ उनका अनुसार उस बेला अर्को फिल्म खेल्न वर्षौं कुर्नुपर्थ्यो। गौरीले यसबीचमा टेलिसिरियलहरू पनि खेलिन्। २०४५ ताका चर्चित ‘श्रद्धा’ टेलिसिरियलमा उमेर सानै भए पनि पाकी महिलाको अभिनय गरिन् उनले।
‘त्यही टेलिसिरियलबाट कामना साँझमा पहिलो अवार्ड पाएकी थिएँ,’ गौरीले सुनाइन्। टेलिसिरियलसँग करिअरको सम्बन्ध भएकाले उनी यस विधामा काम गर्न रुचाउँछिन् पनि। केही साथीहरू मिलेर राम्रो टेलिसिरियल उत्पादन गर्ने सोचका साथ प्रोडक्सन हाउससमेत खोलेकी छन् गौरीले। ‘वसन्ती’, ‘संन्यास’, ‘मामाघर’, ‘धनसम्पत्ति’, ‘कन्यादान’ जस्ता दर्जनौं फिल्म खेलेका उनी पछिल्लोपटक छिरिङ रितार शेर्पाको ‘सिंहदरबार’ टेलिसिरियलमा महिला प्रधानमन्त्रीको रूपमा देखिँदै छिन्।