पाँच करोड लगानीमा हिँडेरै अमेरिका पुग्नेछन् खगेन्द्र



काठमाण्डौ। ५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै अमेरिका पुग्ने विषयमा आधारित भएर ५ करोडको लागतमा नेपाली फिल्म निर्माण हुने भएको छ । निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने अनटाइटल प्रोजेक्टको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ ।

‘लभ लभ लभ’ फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे र निर्मात्री शर्मिला पाण्डेको लगानीमा बन्ने यो फिल्ममा लिड रोलमा लेखक तथा कलाकार खगेन्द्र लामिछाने हुनेछन् । अरु दुई मुख्य कलाकारहरु भने छनौट हुन बाँकी छ । फिल्मको छायांकन नेपाल हुँदै भएर इन्डिया, थाईल्यान्ड, ब्राजिल, कोलम्बिया, मेक्सिको हुँदै अमेरिकाको टेक्साससम्म हुने निर्देशक खनालले कार्यक्रममा बताए । सुरज सिने आट्स र दीपेन्द्र के. खनाल प्रोडक्शनबाट निर्माण हुने यो फिल्मको कथा निर्देशक खनाल आफैले तयार पारेका हुन् ।

फिल्मको विषयमा बोल्दै निर्देशक खनालले भने, ‘अहिलेसम्म नदेखिएको पाटोलाई हामीले देखाउने प्रयास गरेका छौं । हिँडेर अमेरिका जाने तीन पात्रको संघर्षको कथा फिल्मले बोल्छ । फिल्म तयार गर्न निकै गाह्रो छ किनकी यी देशहरुमा पुग्न नै सबैभन्दा मुश्किल काम हो । तर हामीले आँटेका छौं, गर्नु पर्छ भनेर लागेका छौं । किनकी यो देशको पनि समस्या हो । यसले समाजमा एउटा सन्देश पनि जान्छ ।’

फिल्म ‘लभ लभ लभ’ ले व्यवसायिक सफलता हासिल नगरेपनि दर्शक र समिक्षकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएका कारण दोस्रो फिल्म निर्माण गर्न लागेको निर्मात्री शर्मिला पाण्डेलले जानकारी दिइन् । उनले ‘लभ लभ लभ’ मा मुख्य भूमिकामा निर्वाहा गरेको आफ्नो छोरा सुरज पाण्डे यो फिल्ममा नहुने पनि बताइन् । उनका अनुसार, यो फिल्मपछि बन्ने तेस्रो प्रोजेक्टमा भने सुरज लिड रोलमा रहनेछन् । अनटाइटल यो फिल्ममा सुरज पाण्डे प्रोडक्म्सन हेडको रुपमा रहेका छन् । मंसीर १५ बाट फिल्मको सुट सुरु हुनेछ ।

५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने गर्छन् । जंगल, समुद्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपाली जंगली जनावरको सिकार पनि हुन्छन् । कतिपय समुद्रमा डुंगा डुबेर गोही र सार्कको सिकार हुन्छन् । कतिपय अमेरिका आउनुअगाडि नै अन्य देशमा पक्राउ परेर उतैबाट फर्काइन्छन् । यति धेरै जोखिमबीच पनि मेक्सिको हुँदै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने क्रम घट्दो छैन, बरु बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu