दमौली। नेपाली चलचित्र तथा रंगमञ्चका कलाकार बिक्रम परियारको हत्या भएको छ । कलाकार परियारको स्थायी घर तनहुँको व्यास नगरपालिका, वडा १ तल्लो भादगाउँमा भोट हालेर घुम्न निस्कँदा अज्ञात समुहले ढुंगाले आक्रमण गरी हत्या गरेको हो ।
काठमाण्डौंमा बसेर कलाकारिता गर्दै आइरहेका उनी स्थानिय चुनावमा भोट हाल्न घर गएका थिए । भोट खसालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला केहि व्यक्तिहरुको समुहले आक्रमण गरी उनको हत्या भएको हो ।
आक्रमणकारीको पहिचान भएको छैन । स्थानिय प्रशासनले हत्यामा संलग्न भएको आशंकामा सोधपुछको लागि दुई महिलालाई नियन्त्रणमा लिएको बताईएको छ । हाल उनको शव दमौली अस्पतालको शवगृहमा छ
परियारका एक श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी छोरी छन् । उनले चलचित्र ‘बधशाला’ पनि अभिनय गरेका छन् । उनले बिशेष गरी रेडियो नाटकमा योगदान दिएका थिए ।