काठमाण्डौ। चलचित्र बन्नको लागी आवश्यक आधारभुत संरचनामा सिनेमाटोग्राफी पहिलो नंबरमा गनिन्छ । दृश्य बिना चलचित्रको परिकल्पना हुनै नसक्ने हुँदा सिनेमाटोग्राफरको पनि उत्तिकै महत्व हुने गर्छ । प्रविधीको विकाससँगै क्यामेराको पनि प्राविधिक पाटो फेरिएको छ । क्यामेराको प्राविधिक पाटो विकसित हुँदा क्यामेराम्यान अर्थात सिनेमाटोग्राफर पनि प्रविधीमा अब्बल हुँदै जाने क्रम जारी छ ।
विश्व चलचित्र इतिहास निकै लामो भएपनि नेपाली चलचित्रको इतिहासले मात्र ५० बर्ष पुरा गरेको छ । यसबीचमा धेरै चलचित्र बने र धेरै प्राविधिकहरुको जन्म भयो । अहिले नेपाली चलचित्र बजारमा प्राविधिकहरुले पनि फड्को मारिरहेका छन् । यसैबीच तीनपटक सम्म उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड उचालेका रामेश्वर कार्की नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट सिनेमाटोग्राफरको अग्र पंक्तिमा आउँछन् ।
कार्कीले यसअघि वि.सं. २०६८ मा चलचित्र ‘दुलही’ र २०६९ मा चलचित्र ‘धुवाँ यो नशा’बाट उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड उचालेका थिए भने हालै चलचित्र ‘सम्बोधन’बाट उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड प्राप्त गरेका छन् । उनले अवार्डमा सहभागी ८० चलचित्रका सिनेमाटोग्राफरलाई पछि पार्दै चलचित्र प्राविधिक संघले आयोजना गरेको ‘नेफ्टा फिल्म अवार्ड २०७२’ प्राप्त गरेका हुन् ।
तीन अवार्ड पाएका कार्कीले चलचित्र छायांकन गरेबापत लिँदै आएको आफ्नो पारिश्रमिकमा वृद्दी गरेका छन् । पारिश्रमिक वृद्दीसँगै उनले आफ्नो टीमलाई अझै परिष्कृत बनाएका छन् ।