मंसिर २६ बाट पर्वतिय चलचित्र काठमाण्डौमा | चलचित्र महोत्सव



श्यामसुन्दर गिरी, काठमाण्डौ। ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ यहि मंसिर २६ देखि ३० गतेसम्म हुने भएको छ । काठमाडौमा आईतवार गरिएको प्रेसमिटमा सो बारेमा जानकारी गराईएको हो । महोत्सवको उद्घघाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिक्सन चलचित्र चेजिङ रेन्बोजको ‘इन्द्रेणी खोज्दै जाँदा’ प्रदर्शनीबाट हुने भएको छ । सो उद्घाटन समारोहमा प्रर्दशन हुन लागेको चलचित्रले आफ्नो सपना पूरा गर्न काठमाडौं आएका तीन दाजुबहिनीले भोगेका कष्ट र परीक्षालाई चित्रण गरेको बताईएको छ ।

‘किम्फले विगत पाच वर्षदेखि ‘नेपाल पानोरामा’ अन्तर्गत नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आएको छ । प्रेस मिटमा बोल्दै चलचित्र महोत्सवका अध्यक्ष वसन्त थापाले उद्घाटन नै नेपाली महिला निर्देशकको चलचित्रबाट हुने जानकारी गराए । किम्फको समापन क्याप्टेन जोहन नोयलको चलचित्र ‘द इपिक अफ एभरेस्ट’को विशेष प्रदर्शनीबाट गरिनेछ । सो चलचित्र केही महिना अगाडि बेलायतमा सार्वजनिक प्रदर्शन गरेको थियो । यस डकुमेन्ट्रीमा सन् १९२४ मा जर्ज म्यालोरी र एण्ड्रु इर्भिनद्वारा सगरमाथा आरोहण गर्दाका दृश्य र प्रसंग समावेश छन् । ती दुई आरोही सगरमाथाको चुचुरोमा पुगे कि पुगेनन् भन्ने बहसलाई चलचित्रले फेरि ब्युँताइदिएको छ । उक्त चलचित्रको प्रदर्शनीलाई एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको सन् १९५३ को सगरमाथा आरोहणको ६० औं वार्षिकीको रूपमा पनि लिन सकिन्छ । हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फमा विशेषगरी पर्वत, त्यहाका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्रहरु प्रदर्शन गरिनेछ ।
Kimff
२० देशका ४७ चलचित्र डकुमेन्ट्री, फिक्सन, छोटा चलचित्रहरु एनिमेसन र प्रयोगात्मक चलचित्र छनोट गरिएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने किम्फका चलचित्रहरु अन्तर्राष्ट्रिय र नेपाल पानोरामा गरी दुई प्रतियोगितात्मक खण्डमा छुट्याइएको छ । साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइसराइ जस्ता विषयका चलचित्र किम्फमा देखाइने छन् । ‘ह्वाई पोभर्टी’ शीर्षकमा युवा चलचित्रकर्मीले बनाएका छोटा चलचित्रहरुको प्रतिस्पर्धा पनि किम्फको आकर्षणको रुपमा रहेको छ ।

स्टेप्स इन्टरन्यासनलको सहकार्यमा गरिन लागेको प्रतिस्पर्धाका उत्कृष्ट तीन विजेताहरूको नाम किम्फमै उद्घोष गरिनेछ र प्रतिस्पर्धी चलचित्रहरुलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मिले चलाउने कार्यशालामा भाग लिने अवसर दिइने आयोजकले बताएको छ । स्थानीय कला समूह ‘सत्य’ले उक्त कार्यशाला गर्नेछ । किम्फमा यसपालि तीन सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक मण्डल (जुरी)ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका विजेताहरूको छनोट गर्नेछ र विजेताहरूलाई क्रमश: १५००, १००० र ५०० अमेरिकी डलर पुरस्कार प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu