विपीन र केकीको ग्रामीण रोमान्स झल्काउँदै ‘काजी’ को पहिलो गीत सार्वजनिक



काठमाडौं – निर्देशक लक्ष्मण रिजालको आगामी चलचित्र ‘काजी’ को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गीतले चलचित्रको मूल कथासार र परिवेशलाई दर्शकमाझ प्रस्तुत गरेको छ। आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले दर्शकमाझ अहिलेदेखि नै उत्सुकता बढाएको छ।

चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको यस गीतमा ‘नेपाल आइडल’ का विजेताद्वय गंगा सोनाम र करण परियारले सुमधुर स्वर दिएका छन्। यसै गीतार्फत गायिका गंगाले नेपाली चलचित्रको पार्श्व गायनमा औपचारिक डेब्युसमेत गरेकी हुन्। पतिपत्नी बीचको प्रेमिल सम्बन्ध र समर्पणलाई दर्शाउने गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी नवविवाहित जोडीका रूपमा प्रस्तुत भएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा उनीहरूको ग्रामीण दैनिकी, बिहानको पूजापाठदेखि खेतबारीको कामसम्मलाई निकै आकर्षक र स्वाभाविक ढंगले उतारिएको छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेका छन्। प्रदीप भारद्वाजको कथा रहेको ‘काजी’ पूर्ण रूपमा भावनात्मक तथा सामाजिक विषयवस्तुमा आधारित छ, जसले मानवीय सम्बन्ध, प्रेम, पीडा र पारिवारिक जिम्मेवारीको गहिराइलाई उजागर गर्ने निर्माण पक्षको दाबी छ। चलचित्रमा विपीन र केकीका साथै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम लगायतका थुप्रै स्थापित तथा बाल कलाकारहरूको अभिनय रहेको छ।

रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी निर्माता तथा असिम काफ्ले कार्यकारी निर्माता रहेको यस सिनेमालाई चिन्तन राजभण्डारीले क्यामेरामा कैद गरेका हुन्। चलचित्रमा सुजिल कर्माचार्यको पार्श्व संगीत, श्याम कुँवरको रङ्ग संयोजन र विपीन मल्लको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu