गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजासँगै चलचित्र ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न



काठमाडौं – आगामी नेपाली चलचित्र ‘अक्षरा’को औपचारिक निर्माण घोषणा गरिएको छ। शुक्रबार बिहान काठमाडौंस्थित गुहेश्वरी मन्दिरमा चलचित्र निर्माण टोलीले स्क्रिप्ट पूजा गर्दै यसको शुभमुहूर्त सम्पन्न गरेको हो। मुहूर्त शटको दौरान क्यामेरातर्फ दिनेश महरा, रोलमा शंकर महर्जन र एक्सन-कटको जिम्मेवारी मधुसूदन भट्टराईले निर्वाह गरेका थिए। त्यसैगरी, लव प्याकुरेलले क्ल्याप हानेर र दीपक दंगालले नरिवल फुटाएर चलचित्रको छायांकनको साङ्केतिक सुरुवात गरेका थिए।

क्षितबाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई विनयराज पौडेलले निर्देशन गर्दैछन्। दर्जनौँ चलचित्रमा सहायक निर्देशकका रूपमा लामो अनुभव सँगालेका पौडेलले ‘अक्षरा’मार्फत चलचित्र निर्देशनमा औपचारिक डेब्यु गर्न लागेका हुन्। यस चलचित्रको मुख्य अभिनयमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सिर्जना अधिकारीलाई देख्न सकिनेछ। साथै, रोनक खड्का र प्रीसा ढुंगानाले बालकलाकारका रूपमा पर्दामा प्रस्तुत हुनेछन्।

चलचित्रको प्राविधिक तथा अन्य निर्माण पक्ष पनि उत्कृष्ट अनुहारहरूलाई समेटिएको छ। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहने यस चलचित्रमा सुरेन्द्र रानाको शब्द रचना र कर्णराज गिरीको संगीत सुन्न सकिनेछ। दीपेन बस्न्यातले दृश्य कैद गर्ने जिम्मेवारी पाएको ‘अक्षरा’मा शंकर महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र गौतमराज खड्काको सम्पादन रहनेछ। यसैगरी, शृंगारमा मदन न्यौपाने, भेषभूषामा प्रार्थना भट्टराई र पोस्टर डिजाइनमा राकेश दाहाल जोडिएका छन्।

कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी रहेको यस चलचित्रका निर्माताहरू उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन्। निर्माण व्यवस्थापनको अभिभारा सुमन काफ्लेलाई दिइएको छ भने मुख्य सहायक निर्देशकमा दिवस बोहरा र सहायक निर्देशकमा मनोज बोहोरा रहेका छन्। निर्माण कार्य सम्पन्न भएपश्चात् यसलाई नेसनल सिने ग्रुप नेपाल प्रालिका तर्फबाट दीपक दंगालले वितरण गर्दै देशभरका दर्शकमाझ पुर्‍याउने जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu