
काठमाडौं – सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलको नयाँ प्रस्तुति ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले युट्युबमार्फत सार्वजनिक गरेको उक्त टिजरले आम विपन्न परिवारको शैक्षिक संघर्ष, छिनभरमै टुट्ने सपना र भताभुंग हुने भरोसाको गहिरो कथा पेस गरेको छ।
टिजरमा विशेषगरी एउटा बाबुले आफ्नो खुसी तिलाञ्जली दिएर छोराको उज्ज्वल भविष्यका लागि देखेको सपना र त्यो पूरा नहुँदा उत्पन्न हुने निराशालाई मार्मिक ढंगले उतारिएको छ। सरकारी छात्रवृत्ति पाउन कक्षामा प्रथम (रोल नम्बर १) हुनैपर्ने कठोर नियमले कसरी विपन्न विद्यार्थीहरूलाई शिक्षाको अवसरबाट वञ्चित गरिरहेको छ भन्ने तीतो यथार्थलाई चलचित्रले उजागर गर्ने प्रयास गरेको छ। यसका साथै, परिवारको महत्त्वाकांक्षा र इज्जतको भारी बोक्न विवश बालबालिकाले पढाइमा उत्कृष्ट नतिजा दिन नसक्दा उनीहरूको बालमनोविज्ञान र समग्र जीवनमा पर्ने गम्भीर असरलाई सिनेमाको मुख्य विषयवस्तु बनाइएको छ।
महेश दवाडीको कथा लेखन तथा जोन योञ्जनको निर्देशन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा प्रस्तुत भएका छन्। त्यसैगरी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले बाल–कलाकारको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। म्याग्दी जिल्लाका विभिन्न रमणीय तथा ग्रामीण परिवेशमा छायांकन गरिएको यो चलचित्रको दृश्य निर्माण (डीओपी) शिवराम श्रेष्ठले गरेका हुन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रमा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा जोडिएका छन्। चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको पार्श्व संगीत (ब्याकग्राउन्ड स्कोर), फिरोज खड्का चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन र मदन घिमिरेको सम्पादन रहेको छ।
निर्माता पौडेलका अनुसार आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारेर यो सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ। चलचित्रको वितरण जिम्मेवारी भने रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन्।
टिजर:




