चर्को आलोचनापछि बोलिन् नीति शाह, दिइन यस्तो जवाफ



काठमाण्डौ। चर्चित मोडल तथा ‘मिस नेपाल इन्टरनेशनल २०१७’ नीति शाहले पटक-पटक सकारात्मक सोच राख्ने हरेक व्यक्ति आफ्ना आदर्श रहेको बताउँदै आएकी थिइन् । तर अहिले आएर उनि आँफैले नकारात्मक वक्तव्य दिएपछि व्यापक आलोचनामा परेकी छिन् । यतिबेला उनको विचार राम्रो भन्नेहरु भेटिन छोडेका छन् ।

जापानमा आयोजित ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै पुगेकी मिस नेपाल इन्टरनेशलन नीति शाह एकाएक विवादमा तानिएकी छन् । नीतिले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा नेपाल र नेपालका महिलाको शिक्षाको अवस्थाबारेमा राखेको धारणाले अहिले उनिमाथी अनेकौँ प्रश्न उठिरहेका छन् । उनको अहिले समाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

उनले उक्त कार्यक्रममा यस्तो भनेकी थिइन्, ‘म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो । हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं । एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन् । पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन् । अर्को वर्गमा ग्रामीण महिलाहरु छन्, जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन । ग्रामीण महिलाहरुलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन । मेरो देशका प्रायः महिलाहरुसँग दुई वटा विकल्प छन् । कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना ।’

नीतिले आफू शहरी महिला भित्र पर्ने बताउँदै देशका ग्रामिण क्षेत्रका धेरै महिलाहरु वेश्याबृत्तिका लागि विभिन्न देशमा बेचिने गरेको समेत सोही क्रममा बताएकी थिइन् । नीतिले कार्यक्रममा ब्यक्त गरेका यी विचारले अहिले सामाजिक सञ्जालमा उनको बिरुद्ध चर्का आवाजहरु उठिरहेका छन् । हुँदाहुँदा उनको अंग्रेजीको पनि मजाक उडाइएको छ । उनलाई अनुहारको मात्र राम्रो युवती भनेर गाली गर्ने थुप्रै देखिएका छन् । सामाजिक सञ्जालमा उनलाई ब्यङ्ग्य गर्दै ट्रोल समेत बनेको देख्न सकिन्छ ।

यता नीतिले भने सोवा विश्वविद्यालयमा भएको छलफलका क्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे फेसबुकमार्फत स्पष्टिकरण दिएकी छिन् । उनले प्रष्टिकरण दिँदै आफूले भनेको कुरालाई गलत ढंगले बुझिएको उनले बताएकी हुन् । उनले नेपालको लैंङ्गिक अवस्थाबारे मात्र कुरा राखेको बताउँदै सो कुरा सत्य भएको पनि बताइन् । उनले यसबाट कसैलाई चोट परेकोमा माफी पनि मागेकी छिन् ।

को हुन् नीति शाह ? आउनुहोस् नजिकबाट चिनौँ:
नीति शाह ‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि विजेता हुन् । नीति शाह फेब्रुअरी २, १९९६ मा जन्मेकी हुन् । उनले धेरै सौन्दर्य प्रतियोगिता जितेकी छन् । नीतिलाई इनभोगको सबैभन्दा लोकप्रिय अनुहार मानिन्छ र उनि सन् २०१३ मा आयोजित फेस हाउस अफ फेसनको पहिलो उप-विजेता हुन् ।

र्‍याम्पमा समेत व्यस्त मोडल नीति शाह सानैदेखि मोडलिङ तथा मिडियातर्फ आकर्षित थिइन् । त्यतिबेलादेखि मिस नेपाल, मिस वल्र्ड आदि चासो दिएर हेर्ने नीतिले शीताष्मा चन्दले मिस नेपालको ताज जितेपछि उनिमा पनि मिस नेपाल बन्ने चाहना बढेको थियो ।

११ कक्षा अध्ययनरत छँदै मोडलिङ सुरु गरेकी नीतिले १६ वर्षकै उमेरमा फोटोसुट गराएकी थिइन् । विभिन्न पत्रपत्रिकाको कभर गर्ल बनिसकेकी नीतिलाई नेपालकै सुन्दर महिलाहरूको सूचीमा राख्न थालिएको थियो । २०१३ मा हाउस अफ फेसनमा रनरअप भएपछि उनी र्‍याम्पमा देखिन थालेकी हुन् । फुर्सदमा नाच्न रुचाउने नीति राम्रो साल्सा डान्स गर्छिन् । नृत्यका साथै उनलाई भ्रमण तथा सामाजिक कार्यमा समेत रुचि छ । भूकम्पपछि उनी साथीहरूसँग मिलेर सहायता नेपाल नामक संस्थामार्फत धेरै ठाउँमा सहयोगका लागि पुगेकी थिइन् ।

नीतिका बुवा अवकाश प्राप्त सैनिक हुन् भने आमा शिक्षिका । एक्ली छोरी नीतिलाई बाल्यकालदेखि नै आमाबुवाबाट कुनै पनि कुरामा रोकतोक भएन । उनका हरेक इच्छा तथा निर्णयमा अभिभावकको साथ रह्यो । नीति माल्भिका सुब्बा तथा मिस वल्र्ड–२०१३ मिरगन योडबाट प्रभावित छिन् । सामाजिक सञ्जालमा पनि उनी निकै चर्चित रहेकी छिन् । उनका हजारौँ फलोअर्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu