यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यु ईयर’ हेरेर दर्शक ‘ह्याप्पी’ हुने नायक तथा निर्माता कुशल थापाले बताएका छन् । मोफसलका विभिन्न ठाउँमा सांगीतिक कन्सर्ट सकेर काठमाडौं फर्किएका कुशलले ‘ह्याप्पी न्यु ईयर’ सबै पक्षबाट अब्बल रहेको दाबी गरे ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘चलचित्रको कन्टेन्ट राम्रो छ, स्टोरी राम्रो छ, परफर्मेन्स राम्रो छ अनि अष्ट्रेलियामा सुटिङ गरिएको छ । सबै पक्षबाट अब्बल छ ‘ह्याप्पी न्यु ईयर’ । त्यसैले चलचित्र हेर्न लायकको छ ।’ उनले बलिउडस्टार शाहरुख खान अभिनीत ‘ह्याप्पी न्यु ईयर’ भन्दा धेरै अगाडि आफूले चलचित्रको नाम र कथावस्तु तयार पारेको पनि बताए ।
चलचित्रको छायांकन अष्ट्रेलियामा गर्नुको कारण बारे उनी भन्छन्, ‘हुनत, यो चलचित्रको छायांकन जहाँ गरेपनि हुन्थ्यो तर अष्ट्रेलियामा गएर बसोबास गर्ने नेपालीको दुःख कस्तो हुन्छ भन्ने कन्टेन्टलाई हामीले देखाउन खोजेका छौं ।’ उनले पहिलो पटक चलचित्र निर्माणमा हात हाल्दा धेरै कुरा सिक्ने मौका पाएको पनि बताए ।
आरके एम प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा राती थापाको लगानी छ । लभस्टोरी जनराको यो चलचित्रमा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।
देवकुमार श्रेष्ठ निर्देशित ‘ह्याप्पी न्यु ईयर’मा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।
भिडियो :-