अनेकस र नेफ्टाबीच सम्झौता | इनास अवार्ड २०१४



inas33ठुलोपर्दा डटकम, काठमाण्डौ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)ले आगामी २०१४ को मार्च ३० तारिखमा नेदरल्यान्डसमा आयोजना गर्ने ‘इनास चलचित्र अवार्ड’को दोश्रो श्रृंखलामा नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) बिच सहकार्य गर्ने निर्णय गरेको छ। सहमती अनुसार नेफ्टाले १ जनवरीदेखि ३० डिसेम्वर भित्र सार्वजनिकरुपमा प्रदर्शनमा आएका चलचित्रहरुको छनौट गरी उत्कृष्ट पाँच चलचित्रहरु आयोजक संस्थालाई पठाउने छ र सोहि उत्कृष्ट ५ चलचित्रहरु मध्येबाट पब्लिक भोटिङ्ग र अनेकसको आन्तरिक जुरीले गरेको निर्णयको आधारमा वर्षको सर्वोत्कृष्ट चलचित्र छनौट गरी अवार्ड प्रदान गरिने जनाइएको छ ।

अनेकसले गत अप्रिल महिनामा जर्मनीमा आयोजना गरेको अवार्डको प्रथम सँस्करणमा समेत प्राविधिक संघले नै चलचित्र छान्न सहयोग गरेको थियो । अन्तर्राष्ट्रियस्तरमा समेत चासोको रुपमा हेरिएको ‘इनास अवार्ड’लाई सफल पार्न अनेकसले चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ, चलचित्र कलाकार संघ लगायतका नेपाली चलचित्र सम्बन्धित सबै संस्थाहरुसँग समेत उत्तिकै महत्वका साथ आपसी छलफल र सहकार्य गरेर अघि बढ्ने जानकारी गराएको छ ।

प्रवासबाट बनेका चलचित्रहरुलाई विशेष कदर स्वरुप ‘इनास बिशेष चलचित्र पुरस्कार’ले सम्मानित गर्दै आएको कलाकार समाजले सो कार्यलाई यसपटक पनि निरन्तरता दिने अनेकस केन्द्रिय अध्यक्ष पुष्प वरुवालले ठुलोपर्दा डटकमलाई बताउनुभयो। प्रथम अवार्ड कार्यक्रममा युरोपबाट निर्माण गरिएका चलचित्रहरुलाई मात्र यसप्रकारको अवार्ड प्रदान गरेको यस संस्थाले यसपटक भने नेपाल भन्दा बाहिरबाट बनेका सम्पूर्ण चलचित्रहरुलाई विशेष अवार्डको वर्गीकरणमा राखिएको छ । यसबाट प्रवासमा बसेर नेपाली चलचित्र निर्माणमा सकृयाता बढाउन प्रोत्साहन हुने चलचित्रकर्मीहरु बताउँछन् ।

यसरी प्रदान गरिने बिशेष अवार्डका लागि कलाकार समाजको केन्द्रिय कार्यालय Einthovenstraat 17b, 1097 KT, Amsterdam, Netherlands मा वा यस संस्थाको ईमेल [email protected] मार्फत सम्पर्क राख्न समाजले प्रवासबाट चलचित्र निर्माण गर्ने सबै निर्माता र निर्माण कम्पनीलाई अनुरोध गरेको छ ।

युरोप महादेशस्तरीय नृत्य प्रतियोगिता सहित नेदरल्यान्डकै सबैभन्दा उत्कृष्ट हल ‘De Meerse’ Raadhuisplein 3, Hoofddorp मा आयोजना गरिने यस कार्यक्रममा पोल्यान्ड, फिन्ल्याण्ड, जर्मनी, ईटाली, डेनमार्क, स्पेन, इङ्ल्यान्ड, स्विजरल्याण्ड, फ्रान्स, लग्जम्बर्ग, बेल्जियम, नर्वे, स्विडेन, पोर्तुगल, हङ्गेरीलागयतका युरोपेली मुलुकहरुका साथै क्यानाडा र अमेरिकाबाटसमेत दर्शक, कलाकार र संघसंस्थाका प्रतिनिधिहरुको निकै ठूलो सहभागीता हुने जनाइएको छ । कार्यक्रमलाई सफल बनाउन स्थानीय नगरपालिका, डच कम्युनिटी, बिभिन्न मुलुकका गैर-आवासीय नेपाली संघ (NRN) हरु, सांस्कृतिक गृहहरु लगायत बिभिन्न सामाजिक र व्यबसायिक संघसंस्थाहरुले सहयोग गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu