राम्रो मान्छेलाई इश्वरले लग्यो | फोटो फिचर | रेग्मीको अन्त्येष्टी



shiva-regmi1
श्यामसुन्दर गिरी, चितवन।
स्व. शिव रेग्मी दुई दशकभन्दा लामो समयदेखी चलचित्र क्षेत्रमा योगदान दिएका हस्ती हुन् । उनले डेढ दर्जन भन्दा बढी चलचित्र निर्देशन गरेका थिए । भिडियो चलचित्र ‘अठोट’बाट कलाकारितामा प्रबेश गरेका रेग्मीको पहिलो लेखन चलचित्र ‘प्रेमपुजा’ हो भने निर्देशनको हिसाबले ‘आफन्त’ हो । उनले आफन्त, ए मेरो हजुर, मुग्लान, सुख-दुख, हामी तीन भाई, उपहार, पाहुना, साथी म तिम्रो, कहाँ भेटिएला जस्ता सफल चलचित्र निर्देशन गरेका थिए । उनले पछिल्लो समयमा निर्देशन गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ र ‘पराई’ प्रर्दशनको तयारीमा छ ।

shiva-regmi2
वि.स. २०२१ भाद्र ५ गते बिहिवारको दिन पिता स्व.खगराज रेग्मी र माता भक्तमाया रेग्मीको कोखबाट जन्मेका रेग्मी ६ भाई र ४ दिदीबहिनी मध्ये जेठा हुन् । चितवन भरतपुरमा स्थायी घर भएका रेग्मीकी आमा, श्रीमती ज्ञानु , एक छोरा अभिषेक, एक धर्मपुत्री सम्झना, दुई छोरी भावना र पल्लवी छन् । अभिषेक बगंलादेशमा एमबीबीएस र पल्लवीले वैंगलोरमा बीएस्सी नर्सिङ गर्दैछिन भने भावना स्टाफ नर्स हुन् ।

shiva-regmi3
नेपाली चलचित्र निर्देशनमा रेग्मी उत्कृष्ट मध्येका एक हुन । चलचितर लेखनबाट निर्देशक बनेका रेग्मी गीत रचना लगायतका विधामा पनि चर्चित छन् । विगत दश महिना देखी मिर्गौला रोगबाट पीडित बनेका उनी निमोनियाले ग्रस्त बनाएपछी अस्पातलमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछी चितवन मेडिकल कलेजबाट उनलाई काठमाण्डौ बल्खुस्थित बयोधा अस्पातल रिफर गरी उपचार गरिएको थियो ।

shiva-regmi4
रेग्मिको उपचारमा आर्थिक समस्या देखिएपछी बिभिन्न संघ सस्थाहरुले आर्थिक सहयोग गरेका थिए । चिकित्सकहरुले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएपछी उनकै कान्छा भाई सुरेश रेग्मीले मिर्गौला दिने तयारी गरेका थिए । तर दुर्भाग्य निमोनियाका कारण मिर्गौला प्रत्यारोपण हुन सकेन । अन्तत: रेग्मीको अवस्था गम्भिर बन्यो र २०७० मङ्सिर २४ गते सोमबार बिहान ५ बजेर ३० मिनेटको समयमा ४९ बर्षको उमेरमा नै यो संसारबाट सदाका लागि बिदा भए ।

shiva-regmi5
स्व.शिव रेग्मीको अन्तिम दाह सँस्कारमा चलचित्रकर्मीहरु निर शाह, सुरेशदर्पण पोख्रेल, मौसमी मल्ल, मुकेश ढकाल, सुनिल थापा, राजेन्द्र उप्रेती, लक्ष्मण शेष, भद्र भुजेल, ॠदी चरण श्रेष्ठ, दिपक अधिकारी, संगितकार सुरेश अधिकारी, सहन प्रधान लगायतको उपस्थित थियो । उपस्थित मध्येका चलचित्रकर्मीहरु रेग्मीको दु:खद निधनप्रती के भन्छन ?

यो अपुर्णिय क्षतीको पुर्ती गर्नै सकिएला जस्तो लाग्दैन
निर शाह (बरिस्ठ कलाकार तथा निर्देशक)
स्व.शिव रेग्मी जि आफ्नो पुरा जीवन कलाकारितामा समर्पित गर्ने सम्भवत एक मात्र चलचित्रकर्मी हुनुहुन्थ्यो । नारायणी कलामन्दिरबाट आफ्नो कलाकारिता आरम्भ गर्नु भएको रेग्मी जती सकृय हुनुहुन्थ्यो त्यतीनै सफल पनि हुनुभयो । नेपाली चलचित्र उद्योगमा नै सबै भन्दा सफल निर्देशक हुनुहुन्छ । धेरै किसिमका निर्देशक रेहेको हाम्रो उद्योगमा रेग्मी एक स्वाभीमानी, इमान्दार, कर्तब्यनिस्ठ, मेहनती र हरेक कामलाई सम्मान गर्न सक्ने र सबैको नजरमा बस्ने एउटा बहुमुखी प्रतिभाको धनी हुनुहुन्थ्यो । अब रेग्मी जस्तो बहुमुखी प्रतिभाको धनी यस्ता निर्देशक नेपाली चलचित्र उद्योगमा पाउन निकै कठीन छ । यो अपुर्णिय क्षतीको पुर्ती गर्नै सकिएला जस्तो लाग्दैन । यो क्षती चलचित्र क्षेत्रको मात्र नभएर समग्र रुपमा राष्ट्रलाई नै क्षती पुगेको छ । एउटा होनाहर गहना गुमाउन पुगेका छौ । यो समयमा समबेदना प्रकट गर्नु बाहेक बिकल्पनै छैन । उहाको मृत आत्माको चिर शान्तीको कामना गर्दछु । रेग्मी परिवारजनलाई ईश्वरले धैर्यधारणा गर्न शक्ती प्रदान गरुन् ।

यो क्षतीलाई पुरा गर्न मुस्किल छ
बिमल पौडेल (निर्देशक/कलाकार)
दाजु शिव रेग्मीको यो निधन प्रती म अत्यन्त मर्माहत भएको छु । मैले कलाकारिता सुरु गर्दा उहाँको पहिलो लेखन रहेको चलचित्र ‘प्रेम पूजा’मा म नायक भएर काम गर्ने अवसर प्राप्त गरेको थिएँ । त्यहाँबाट नै मेरो कलाकारिता आरम्भ गरेको हुनाले पनि उहाँ मेरो गुरु सरह नै हुनुहुन्छ । मैले उहाँलाई भित्री मन देखिनै सम्मान गर्नु पर्ने हुन्छ । त्यसैगरी उहासँग उहाले निर्देशन गर्नु भएको चलचित्र आफन्तमा पनि सहनायक भएर काम गरेको थिए । यसरी काम गर्दै जादा उहाँ जस्तो इमान्दारी निर्देशक अहिले सम्म मैले भेटेकै छैन । तथापी म आफैले निर्देशनले निर्देशन गर्न थालेको यतीका समय हुँदा पनि मलाई उतिकै माया गर्नु हुन्थ्यो भने म पारिवारिक रुपमा पनि अरु भन्दा अली नजिक नै छु । अब यो क्षतीलाई पुरा गर्न मुस्किल छ ।

राम्रो मान्छे ईश्वरलाई पनि लोभ लाग्दो रहेछ
मुक्तीलाल पिया (संचालक, ईन्द्रदेव चलचित्र मन्दिर)
स्व.शिव रेग्मीको यो दु:खद निधनप्रती सिङ्गो देश नै मर्माहत भएको अवस्थामा म लगायत ईन्द्रदेव चलचित्र मन्दिर, चितवन परिवार अत्यन्त मर्माहत भएको छ । केहि दिन अगाडि मात्रै उहाँको उपचारका लागि चलचित्र पत्रकार संघ चितवनले आयोजना गरेको कार्यक्रममा केही सहयोग गर्ने अवसर पाएको थिएँ । राम्रो मान्छे ईश्वरलाई पनि लोभ लाग्दो रहेछ । निर्देशक रेग्मीको निधन हुनु भनेको देशको एउटा अंमुल्य गहना नाशिनु हो । यस किसिमका निर्देशक अब नेपाली चलचित्र उद्योगले पाउन निकै चुनौती छ । उहाँको दर्जन भन्दा बढी चलचित्र त सुपर हिट भएका छन् । बिशेष गरी पारिवारिक चलचित्र निर्देशन गर्नुहुने रेग्मी जि सबैको मनमुटुमा बस्न सफल निर्देशक हो । उहाँले चितवनका धेरै कलाकारलाई जन्म दिनुभएको छ । तर अझ हामी उहाका धेरै राम्रा चलचित्र हेर्न चाहेका थिऔ । दुर्भाग्य मान्नु पर्छ उहा हामी माझ रहनु भएन तर उहाको बाँकी सपनालाई साकार पार्ने निर्देशकको अभाव छ यो अभावलाई पुरा गर्न सकेको खण्डमा उहाँको आत्माले शान्ती पाउनेछ र चलचित्र उद्योग अझ सुधार हुनेछ । अन्त्यमा उहाँको आत्माले शान्ती पाओस । समग्र परिवारजनमा धैर्यधारणा गर्ने शक्ती मिलोस यही कामना गर्दछु ।

अपुर्णिय क्षती पुगेको आभास गरेको छु
सहन प्रधान(संगितकार )
स्व.शिव रेग्मी जि नारायणी कला मन्दिरको आजिवन सदस्य हुनुहुन्छ । उहाँ एक स्वाभिमानी, कुशल निर्देशक हुनुहुन्थ्यो । रेग्मी जि ले नारायणी कलामन्दिर बाटै कलाकारिता सुरु गर्नु भएको हो । हामी कला मन्दिरमा धेरै समय सम्म सँगै काम पनि गरेका छौँ, त्यसैले पनि उहाँको बारेमा धेरै कुराहरु बुझ्ने मौका पाएको थिए । वि.सं. २०५० सालमा प्रज्ञा प्रतिस्ठानबाट उहाँले निर्देशन गर्नु भएको नाटक ‘स्वदेश भित्र हराएका नागरिक’बाट राष्ट्रिय अवार्ड समेत प्राप्त गर्नु भएको थियो भने कला मन्दिरमा नाटक निर्देशकको रुपमा उहाले अमुल्य योगदान दिनु भएको छ । यो निधनले चितवन, नारायणी कला मन्दिर र चलचित्र उद्योगलाई मात्र नभएर देशलाई नै अपुर्णिय क्षती पुगेको आभास गरेको छु । उहाँको अब जतीसुकै प्रससा गरे पनि हुने वाला केही छैन त्यसैले उहाको मृत आत्माको शान्तीको कामना गर्दछु र यो शोकको घडीमा शोक सम्तप्त परिवारजन प्रती ईश्वरसँग धैर्यधारणा गर्ने शक्ती मिलोस् ।

shiva-regmi6
स्वाभिमानी निर्देशकको रुपमा चिनिएका रेग्मीको दु:खद निधनप्रती ठुलोपर्दा डटकम परिवार हार्दिक समबेदना प्रकट गर्नुका साथै शोक सम्पप्त परिवारजन प्रती धैर्यधारण गर्ने शक्ती मिलोस् भनी कामना गर्दछ ।

“हात समात्दै ताते ताते गर्दै हिड्न सिकायौ, शिव तिमीले साँच्चै कुशल मार्गदर्शन देखायौ”
— जय सिनेमा —

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu