‘ओ मेगा इन्टरटेनमेन्ट’ ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ । सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शोको औपचारिक घोषणा गरिएको छ ।
देशभरका ७ ठाउँमा उक्त रियालिटी शोको अडिसन हुनेछ । विजेताले २० लाख नगद र एउटा कार प्राप्त गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राट बरालले जानकारी दिए ।
उनले भने, ‘विजेतालाई तोकिएको राशीसँगै एक चलचित्रमा अभिनय गर्ने सूवर्ण अवसर पनि प्रदान गर्ने छौं । गाउँ-गाउँमा रहेका प्रतिभालाई संसारभर चिनाउनका लागि हामीले ‘नेपाल्स मेघा सिनेस्टार’ सुरु गर्न लागेका हौं ।’

उक्त रियालिटी शोमा मुख्य निर्णायकको रुपमा निर्देशकद्वय निश्चल बस्नेत, शोभित बस्नेत र मिस नेपाल (सन् २००२) माल्भिका सुब्बा रहेका छन् ।
निर्देशक निश्चल भन्छन्, ‘राम्रो प्रतिभालाई छान्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यो जिम्मेवारीलाई हामी न्यायपूर्वक निर्वाहा गर्नेछौं ।’ उनले ‘नेपाल्स मेघा सिनेस्टार’ बाट नेपाली चलचित्र क्षेत्रले प्रतिभावान कलाकार पाउनेमा विश्वस्त रहेको बताए ।
शोको होस्ट गायक सन्तोष लामाले गर्नेछन् । प्री अडिसनमा करिब २० हजार सहभागी हुने अनुमान आयोजकको छ । उक्त प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने आयोजकले जनाएको छ ।





