
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रकी पपुलर गायिका इन्दिरा जोशी यतिबेला आफ्नो जीवनको सबैभन्दा सुन्दर, तर चुनौतीपूर्ण यात्रामा छिन् ! भर्खरै मात्र उनले सामाजिक सञ्जालमा आफ्नो ‘बेबी बम्प’ सहितका अत्यन्तै आकर्षक तस्बिरहरू सार्वजनिक गरेकी छन्, र खुसीको कुरा— उनी जुम्ल्याहा सन्तानको आमा बन्दैछिन् !
सन् २०२३ मा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी इन्दिराले फोटोसँगै एउटा लामो र भावुक टिप्पणी लेखेकी छन्। जुम्ल्याहा बच्चा हुर्काउने यो यात्रा सोचेभन्दा धेरै गाह्रो भएको बताउँदै उनले लेखेकी छन्- ‘मैले जे अनुभव गरेँ, अब मलाई लाग्छ… यदि म यो गर्न सक्छु भने, जिन्दगीमा जे पनि गर्न सक्छु !’ अघिल्लो पुस्ताका महिलाहरूले गर्भावस्थाका यी कठिनाइबारे धेरै नबोलेको भन्दै, अब महिलाहरूले आफ्ना दुख र अनुभव खुलेर बाँड्नुपर्ने कुरामा उनले जोड दिएकी छन्।”

सुरुवाती दिन गाह्रो भए पनि, अहिले तेस्रो त्रैमासिकमा आइपुग्दा भने इन्दिरा निकै रमाइरहेकी छन्। परिवार र साथीहरूको साथ, राम्रो खानपिन, र आउने बच्चाको लागि किनमेल गर्दै उनले यो सुन्दर समयको भरपुर आनन्द लिइरहेको खुलाएकी छन्।
पोस्टको अन्त्यमा रमाइलो गर्दै उनले भनेकी छन्- ‘गर्भावस्थाले मलाई लामो क्याप्सन लेख्न पनि सिकायो जस्तो छ !’ प्रसूतिपछिको समय कस्तो होला भन्ने उत्सुकतासहित उनले फ्यानहरूसँग सुझाव पनि मागेकी छन्।





