चलचित्र ‘सम्झना’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत विना अनुमती युवा स्टार अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ मा राखिएको आरोपमा प्रहरी हिरासतमा रहेका निर्माता सुवास गिरी झन्डै १७ घण्टा पछि रिहा भए ।

केही हप्ता अगाडि निर्देशक शम्भु प्रधानले काठमाडौं प्रहरी परिसर, टेकुमा ‘कृ’ निर्माताविरुद्ध जाहेरी दर्ता गराएका थिए । सोही विषयमा छलफलका लागि प्रहरीले मंगलवार साँझ ६ बजे गिरीलाई टेकु डाक्यो । तर, दुई पक्षसँगको वार्ता सफल नभएपछि उनीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले मंगलवार साँझ ७ बजे हिरासतमा लिएको थियो ।
बुधवार शम्भु प्रधानलाई क्षतीपूर्ती स्वरुप ११ लाख दिने कागजी सम्झौतापछि निर्माता गिरी रिहा भएका हुन् । रिहाई लगत्तै उनले आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस लेख्दै प्रहरीले आफूलाई अपहरण शैलीमा हिरासतमा राखेको बताएका छन् ।

उनले छलफलका लागि प्रहरीले आउनु भनेको तर मनोमानी रुपमा क्षतीपूर्ती स्वरुप ११ लाख तिराइएको घट्नाले आफू दुखी भएको लेखेका छन् ।
उनी लेख्छन्, ‘संगीतकारले गरेको गल्तिमा पनि छलफल गरेर समस्या समाधान गर्न तयार हुँदाहुँदै पनि अग्रज दाईहरुबाट यस्तो ब्यवहार के उचित हो ? अग्रजहरुको यस्तो ब्यवहारबाट चलचित्र क्षेत्रमा आउने नयाँ निर्माता तथा कलाकारहरुले के पाठ सिक्ने ? अब सबैले सोच्ने बेला आएको छ ।’





