अभिनेता दयाहाङ राई शनिवारबाट ३८ वर्षमा लागेका छन् । भोजपुरको पश्चिमी गाविस खावा वडा नं. ५ मा २०३७ साल बैशाख १ गते बुवा टिकाराम राई र आमा चन्द्रदेवी राईको कोखबाट जन्मिएका उनी एक छोराका पीता समेत हुन् । सन् २००६ मा उनले गायिका बेनुका राईसँग लगनगाँठो कसेका थिए ।
बाल्यकाल गाउँमै खेतीपाती र गाईबस्तु गोठालो गरेर विताएका उनले खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण उच्च माध्यामिक विद्यालय भोजपुरमा एसएलसीसम्मको अध्ययन गरे । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेका दयाहाङ राई यसपछि सिधै काठमाडौं हानिए ।

काठमाडौंमा पसेसँगै उनको संघर्षका दिन सुरु भए । काठमाडौंमा आफन्तसँग बस्ने हुँदा दयालाई साह्रै गाह्रो भने भएन तर कलाकारितामा आफूलाई अगाडि बढाउन भने उनले खुब पसिना बगाएका छन् । २०६० सालबाट कलाकारितासँग सम्बन्ध गाँसेका उनले २०६३ सालमा एक्टर स्टुडियोमा नाटकको काम सिक्न थाले ।
“युवा”, “हाम्रो टिम”, “दलन” जस्ता टेलिचलचित्र सानोतिनो भूमिका निर्वाहा गरेर अभिनय यात्रामा आफ्नो पाइला अगाडि बढाएका दयाहाङले निर्देशक रामबाबु गुरुङको फिचर चलचित्र “अनागरिक” मा काम गर्ने अवसर पाए ।

“मेरो एउटा साथी छ”, “दासढुङ्गा”, “आचार्य” जस्ता चलचित्रमा काम गर्दासम्म उनी गुमनाम थिए । तर, २०६९ सालमा बनेको चलचित्र “लुट” मा निर्वाहा गरेको “गोफ्ले” क्यारेक्टरले दयाहाङलाई स्टार बनायो । “लुट” उनको जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । यसपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु नै परेन ।
उनी नेपालका महँगा नायकको लिस्टमा पर्दछन् । खबरअनुसार, चलचित्र “भैरे” मा उनले १८ लाख पारिश्रमिक बुझेका छन् । वर्ष २०७४ मा “घामपानी”, “कान्छी”, “मिस्टर झोले” गरि तीन सफल चलचित्र दिएका उनी अभिनीत नयाँ चलचित्र “नेप्टे” यतिबेला प्रदर्शन भइरहेको छ । शुक्रवारबाट यो चलचित्र हलमा लागेको हो ।

दीपकराज, कोमल र शिवहरीको पनि ‘बर्थ डे’ आज
हास्यकलाकार द्वय दीपकराज गिरी/शिवहरी पौडेल र गायिका, अभिनेत्री तथा नेतृ कोमल ओलीले पनि आज आफ्नो जन्मदिन मनाउँदैछन् । गिरी र पौडेल अभिनीत नयाँ चलचित्र ‘शत्रु गते’ यतिबेला चौथो हप्तामा प्रदर्शन भइरहेको छ । दीपकराज अहिले ‘छक्का पञ्जा ३’ को तयारीमा छन् ।





