
काठमाडौं – यतिबेला सिनेमाघरहरूमा स्वदेशी तथा विदेशी चलचित्रहरूको बाक्लो चाप छ। दर्जनभन्दा बढी चलचित्रहरू प्रदर्शनरत रहेको अवस्थामा यसै शुक्रबारदेखि थप दुई नयाँ नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ दर्शकमाझ आएका छन्। रोचक कुरा त के छ भने, यी दुवै चलचित्र महिलाप्रधान हुन्। यद्यपि, दुवैको कथा भन्ने शैली र जनरा नितान्त फरक रहेकाले दर्शकले आफ्नो स्वाद र रुचि अनुसारको चलचित्र छनोट गर्न पाउने उत्कृष्ट विकल्प जुरेको छ।
सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको ‘एक मुठ्ठी बादल’ मा अभिनेत्री आँचल शर्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ। विवाहको अघिल्लो दिन एउटी युवतीको मनमा उब्जिने मानसिक अन्तर्द्वन्द्व र परिवारभित्र घट्ने एउटा घटनालाई यस चलचित्रले आफ्नो मूल विषयवस्तु बनाएको छ। बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा चलचित्रको कथावस्तु र कलाकारको अभिनयको चौतर्फी प्रशंसा गरिएको थियो। उपस्थित दर्शक तथा सिनेकर्मीहरूले यसलाई नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने एक साहसिक र भिन्न कथाको संज्ञा दिएका छन्। विशेषगरी, चलचित्रमा आँचल शर्माको अभिनयलाई धेरैले ‘सरप्राइज प्याकेज’ मानेका छन्। यस चलचित्रमा आँचलका साथै निशा शर्मा, उषा रजक, भिमा मैनाली, गौरव विष्ट र मनिष निरौला लगायतको जीवन्त अभिनय रहेको छ।
त्यसैगरी, शुक्रबारकै रिलिज अन्तर्गत प्रदर्शनमा आएको अर्को चलचित्र ‘लाइफ ड्यामेज’ भने फेन्टासी कमेडी ड्रामा जनरामा निर्माण भएको छ। डिजिटल कन्टेन्ट क्रिएटरका रूपमा ख्याति कमाएका निमेष श्रेष्ठको निर्देशन रहेको यस चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र निर्देशक श्रेष्ठ स्वयं मुख्य भूमिकामा प्रस्तुत भएका छन्। उनीहरूका अलावा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जंग थापा, अजय पन्त, सविन बाँस्तोला र निर्मला खड्का लगायतका कलाकारहरूको अभिनय यसमा देख्न सकिन्छ। चलचित्रलाई प्रवीण खड्काले क्यामेरामा कैद गरेका हुन् भने सम्पादनको जिम्मेवारी बिकेन कार्कीले सम्हालेका छन्।
साथै, गत हप्ता प्रदर्शनमा आएका दुई नेपाली चलचित्रहरू ‘मालती मंगले’ र ‘लालीबजार’ दोस्रो हप्ता प्रवेश गरेका छन्। संयोग नै मान्नुपर्छ यि दुई चलचित्र पनि महिला प्रधान नै हुन्।





