‘वीराङ्गना’ मा एक्सन भरपूर : शिल्पा पोखरेल



छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लज्जा’ बाट अभिनेत्री शिल्पा पोखरेलले डेब्यू गरेकी थिइन् । यसपछि उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन ।

‘किस्मत २’, ‘हवल्दार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा उनले अभिनय गरिसकेकी छिन् । अहिले छविराज ब्यानरकोे तल बन्ने हरेक नयाँ चलचित्रमा शिल्पा नै पहिलो र अन्तिम रोजाई हुने गर्दछिन् ।

गएको २ वर्षदेखि शिल्पा र छविराज ओझाको विवाहको प्रशंगले पनि सिनेवृत खुब तातेको छ । तर, यो सबै चलचित्र रिलिजको बखत मात्र । ‘मंगलम’ रिलिजताका उग्र भएको यो जोडीको विवाहको चर्चा अहिले शान्त छ । काँचको पर्दामा एक्सन अवतारमा औधि रुचाइएकी शिल्पाको आउँदो असार २९ गते नयाँ चलचित्र ‘वीराङ्गना’ रिलिज हुँदैछ ।

यो छविराज ब्यानरमा निर्माण भएको फिल्म होेइन । तर, उनले बाहिरी ब्यानरका फिल्ममा काम गर्ने वा नगर्ने भन्ने निर्णय छविराजकोे हातमा हुने सिनेवृतमा चर्चा छ । के यो सत्य हो ? बिहीवार ‘वीराङ्गना’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले यो कुराको खण्डन गरिन् ।

उनले भनिन्, ‘छविराज ओझाको अनुमतीपश्चात् मात्र अन्य चलचित्रमा मैले काम गर्न पाउँछु भन्ने कुरा गलत हो । हो, म हरेक चलचित्रको अफर आउँदा एकपटक उहाँलाई सोध्छु । स्क्रिप्ट सुनाउँछु । उहाँको सुझाब लिन्छु । तर, अन्तिम निर्णय मेरै हुन्छ ।’

उनले ‘वीराङ्गना’ मा दर्शकले पुनः आफ्नो एक्सन अवतार हेर्न पाउने बताइन् । उनी भन्छिन्, ‘मंगलम’ रिलिजताका हामी हल-हलमा पुग्दा धेरै दर्शकले मेरो एक्सन खोजेको पाएँ । अब त्यो चाहना ‘वीराङ्गना’ ले पूरा गर्छ ।’

एक्सन जनराको नारी प्रधान भनिएको यस चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । यो चलचित्रमा शिल्पाका अलावा अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu