बलिराम चौहानको निर्देशनमा नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ बन्ने



काठमाडौं। निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका छन्। गत वर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको शीर्षक सार्वजनिक गरेका हुन्।स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रको नारा ‘हरेक युवाको कथा’ राखिएको छ।

युवापुस्ताले आपसी बोलीचालीमा प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दको अर्थ किचकिच वा एउटै कुरामा बारम्बार दिइने तनाव भन्ने हुन्छ। निर्देशक चौहानले पोस्टर सेयर गर्दै ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य: यो जीवनको लागि यति मात्र हो’ भन्ने हरफ उल्लेख गरेका छन्।सार्वजनिक थिम पोस्टरमा खैरो (ग्रे) रङको पृष्ठभूमिमा सहरको एउटा पार्क, झोला, हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लभ साइन, दुईवटा डायरी र पेन देखाइएको छ। त्यस्तै जिन्सको आउटर, कालो चस्मा, अलपत्र परेको बुके र ‘गुड भाइब्स’ लेखिएको स्टिकर पोस्टरमा समेटिएका छन्।

यी सङ्केत र निर्देशकको हरफले प्रेममा धोका पाएको प्रेमीको कथा र त्यसबाट उत्पन्न हुने तनावलाई चलचित्रले समेट्ने सङ्केत गर्छ।चलचित्रको कथा बलिराम चौहान र उपश्री खतिवडाले मिलेर लेखेका हुन्। चलचित्रका निर्माता, कलाकार, प्राविधिक, छायाङ्कन र प्रदर्शन मितिबारे निर्माण पक्षले जानकारी दिएको छैन। चौहानको अघिल्लो चलचित्र ‘द ब्ल्यू लाइट’ ले समीक्षा राम्रो पाए पनि निर्वाचनको माहोलका कारण सिनेमा हलमा व्यावसायिक प्रदर्शन हुन पाएको थिएन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu