शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलमान खान स्टारर चलचित्र ‘रेस ३’ को बुधवार साँझबाट नेपालका मल्टिप्लेक्समा एडभान्स बुकिङ खुल्ला गरिएको छ । चलचित्रप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो ।
बुकिङ खुलेसँगै दर्शकहरुले टिकट रिजर्भ गर्न थालिसकेका छन् । राजधानी भित्र र बाहिरका अधिकांश मल्टिप्लेक्समा चलचिको टिकट तिव्र गतिमा बुकिङ भइरहेको छ ।

सलमानको ‘रेस ३’ लाई नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सले २८ शोज उपलब्ध गराएको छ । सुरुवातमा १७ शोज दिएपनि तिव्र गतिमा भइरहेको बुकिङका कारण क्यूएफएक्सले शोज बढाउन बाध्य भएको हो ।
‘रेस ३’ ले क्यूएफएक्स अन्तगर्तको सिभिल मलमा ७ शोज, लाबिङ मलमा ७ शोज, छायाँमा ७ शोज, कुमारीमा ४ शोज र जय नेपालमा ३ शोज पाएको छ । यो चलचित्र ‘३डी’ मा बनेका कारण क्यूएफएक्सले आफ्नो ‘३डी’ हल सिभिल मलमा १, लाबिङ मलमा २ र कुमारीमा १ शोज गरि कूल चार शोज दिएको छ ।
यस्तै, यो चलचित्रलाई राजधानीका अन्य मल्टिप्लेक्सले पनि उच्च शोज दिएका छन् । बिग मुभिजले १० शोज, क्यूज सिनेमाजले ‘२डी’ र ‘३डी’ गरि कूल १० शोज, विएसआर मुभिजले ‘२डी’ र ‘३डी’ गरि कूल १० शोज र एफक्यूबले ‘२ डी’ र ‘३ डी’ गरि कूल १५ शोज उपलब्ध गराएको छ ।

गोपीकृष्ण मुभिजले यो चलचित्रको नेपाल प्रदर्शन अधिकार किनेको हो । ‘रेस ३’ मल्टिप्लेक्ससँगै नेपालका अधिकांश सिंगल हलमा पनि रिलिज हुँदैछ । प्राप्त जानकारी अनुसार, चलचित्रले सयबढी सिंगल ‘स्कृन’ पाएको छ ।
रेमो डिसूजा निर्देशित यो चलचित्रमा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस चलचित्रका निर्माता हुन् ।






