बोर्ड अध्यक्षमा यसकारण जान सक्दिनँ : दिनेश डिसी



शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको नियुक्ति वर्तमान सरकारले खारेज गरेपछि अहिले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ ।

निकिताको नियुक्ति बदर भएसँगै उक्त कुर्सीका लागि सञ्चार मन्त्रालयमा दर्जन बढी चलचित्रकर्मीहरुको नाम पुगिसकेको छ । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।

अहिले सरकारमा नेकपाको सत्ता भएका कारण चलचित्र विकास बोर्डको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले चलचित्र क्षेत्र र पार्टीलाई योगदान पुर्‍याएको व्यक्तिलाई नियुक्त गर्नेछन् ।


को होला त अबको नयाँ बोर्ड अध्यक्ष ? सिनेवृतमा अहिले २ व्यक्तिको नाम चर्चामा छ । सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी र कलाकार तथा जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष केशव भट्टराई मध्ये एक बोर्ड अध्यक्षमा नियुक्त हुने प्रवल सम्भावना रहेको छ ।

केशवभन्दा प्रधानमन्त्री ओलीसँग निर्देशक डिसी नजिक छन् । प्रधानमन्त्री ओलीको राजकिय भारत भ्रमण टोलीमा राजेश हमालसँगै उनी पनि थिए । यसकारण बोर्ड अध्यक्षमा उनी नियुक्त हुने सम्भावना बढी देखिन्छ । डिसी अहिले ‘रेडियो कान्तिपुर’ का स्टेशन म्यानेजर समेत हुन् ।

तर, निर्देशक डिसीले बजारमा आफू बोर्ड अध्यक्षमा नियुक्त हुन लागेको हल्ला निराधार रहेको बताएका छन् । उनी भन्छन्, ‘बोर्ड अध्यक्षका लागि म पनि दावेदार व्यक्ति हुँ तर अहिले म ‘रेडियो कान्तिपुर’ को स्टेशन म्यानेजरको पदमा छु । म त्यो महत्वपूर्ण जिम्मेवारी छाड्न सक्दिनँ ।’

उनी थप्छन्, ‘बोर्ड अध्यक्षमा जो आएपनि मेरो उहाँलाई सहयोग रहनेछ । अहिलेको सरकारलाई पर्यटन, उर्जा, श्रम र सञ्चारको क्षेत्रमा मेरो टिमले पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु । तर बोर्ड अध्यक्षमा जाने ममा कुनै लालच छैन ।’

यस्तै, बोर्ड अध्यक्षका लागि चर्चामा रहेका केशव भट्टराईको नाम चार महिना अगाडि नै जनपक्षीय चलचित्रकर्मी संघले मन्त्रालयमा बुझाइसकेको छ । डिसीको बोर्डमा नजाने निर्णय पश्चात् अब भट्टराई मन्त्रीपरिषद्को बैठकको निर्णय कुरेर बसेका छन् । उनी आफू नै बोर्ड अध्यक्षमा नियुक्त हुनेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu