प्रियिमरमा ‘बोबी’ को तारिफ



मिलन चाम्स निर्देशित उमेश थापा र कविता गुरुङको बायोपिक चलचित्र ‘बोबी’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रमा यो कपलको नै लिड रोल छ ।

‘बोबी’ को बुधवार राजधानीको कुमारी हलमा ठूलै तामझामका साथ प्रिमियर गरिएको छ । चलचित्रका प्रमुख कलाकारको स्वागत ब्यान्डबाजासहित गरिएको थियो ।


आफ्नो छोरासँग कविता र उमेशले ग्रान्ड प्रिमियरमा इन्ट्री लिएका थिए । चलचित्रका कलाकारहरु विजय लामा, रुबी राणा शाह, देशभक्त खनालसहित गायक राजेशपायल राई, अभिनेता रमेश उप्रेती, ‘भद्रगोल’ का सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठलगायत सयौं चलचित्रकर्मीहरुको प्रिमियरमा बाक्लो उपस्थिति थियो ।

चलचित्र हेर्दैगर्दा उमेश र कविताको ‘ह्याप्पी एण्ड स्याड’ लभस्टोरीमा धेरै भक्कानिएका थिए । चलचित्र हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाको आँखामा टिलपिल आँशु देखिन्थ्यो । सबैले मिडिया समक्ष ‘बोबी’ प्रेरणादायक चलचित्र बनेको प्रतिक्रिया दिए ।


‘रियल एण्ड रिल’ की बोबी उर्फ कविता आफ्नो कथा हेर्न नसकेर चलचित्र नै नहेरी घर फर्किएकी थिइन् । उनका श्रीमान र छोरासहित परिवारले भने चलचित्रकर्मी र सञ्चारकर्मीसँग सँगै बसेर पूरा चलचित्र हेरे ।

चलचित्र सकिएपछि हल तालीले गुञ्जयमान भएको थियो । परिवार र छोरासँग एकै पंक्तिको सिटमा बसेका उमेश आफ्नो कथा पर्दामा हेर्दा सम्हालिन सकेका थिएनन् । छोराले पटक-पटक न्याप्किनले बुबाको आँशु पुछिरहेको वास्तविक दृश्यले जो कोहिँलाई भावुक बनाएको थियो ।

हलबाट बाहिरिँदै गर्दा उमेशले मिडियासँग संक्षिप्त कुराकानी गर्दै आफू फ्ल्यास ब्याकमा गएको सुनाए । उनी भन्छन्, ‘बुबा आमालाई देखेर रोएँ । फेरि डल्लुले पाएको दुःख देखेर रोएँ । मैले आफूलाई सम्हाल्न सकेको थिइनँ ।’


चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu