कर्णाली सरकारले चलचित्रलाई १ करोड दिने सहमती भएको छ: ज्ञानेन्द्र शाही




काठमाडौं – 
“घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने मूल नाराका साथ स्थापित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य साबित्री मल्ल र पूर्व मन्त्री कुन्ती शाहीको विशेष आतिथ्यतामा काठमाडौंमा सम्पन्न एक विशेष कार्यक्रमका बीच परिमार्जित समय तालिका र विस्तृत नियमहरू सार्वजनिक गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनको लागि १ करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए। “हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ, यो वर्ष चलचित्रकै लागि भनेर १ करोड बजेट छुट्टाउने सहमति छ,” उनले भने, “म सरकारलाई पुनः त्यो वाचा सम्झाउन चाहन्छु।” कर्णाली क्षेत्रका अनगिन्ती र मौलिक कथाहरूलाई सिने-पर्दामा उतार्न तथा स्थानीय लेखक, युवा र सर्जकहरूलाई चलचित्र लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले यो नवप्रवर्तनात्मक कार्यक्रम अघि सारिएको हो।

प्रतियोगिता सार्वजनिक भए लगत्तै विशेष गरी कर्णाली क्षेत्रका स्थानीय सर्जक, लेखक तथा दूरदराजमा रहेका प्रतिभाहरूबाट भौगोलिक विकटता, कार्यव्यस्तता र सिर्जनात्मक तयारीका लागि थप समय आवश्यक रहेको भन्दै अनुरोध आएपछि महोत्सव सचिवालयले आवेदन दिने अवधि थप गर्ने निर्णय गरेको हो। कोही पनि योग्य एवं प्रतिभावान सर्जक यो सुनौलो अवसरबाट नछुटुन् र कथाहरूमा परिपक्वता आओस् भन्ने हेतुले यो निर्णय लिइएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले प्रस्ट पारे।

देश तथा विदेशमा रहेका सिर्जनशील लेखकहरूबाट आह्वान गरिएका कथाहरूमध्ये विशेषज्ञ निर्णायक मण्डलद्वारा पारदर्शी ढंगले उत्कृष्ट १५ कथाहरूको छनोट गरिनेछ। छनोट भएका ती कथाहरूलाई महोत्सवको ‘फिल्म स्टोरी बैंक’ मा सुरक्षित राखिनुका साथै लेखकहरूलाई पटकथा लेखनसम्बन्धी विशेष तालिम प्रदान गरिने आयोजकले जनाएको छ। तीमध्ये सर्वोत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित विशेष सम्मान गरिनेछ। स्वदेश तथा विदेशका चलचित्र निर्माता एवं निर्देशकहरूलाई आमन्त्रण गरी ती कथाहरूमा व्यावसायिक चलचित्र निर्माणका लागि मार्गप्रशस्त गरिनेछ भने चलचित्र निर्माण हुने निश्चित भएमा कथाकारलाई नामसहित उचित व्यावसायिक पारिश्रमिक र परामर्शसमेत प्रदान गरिनेछ।

प्रतियोगितामा स्वदेश तथा विदेशमा बसोबास गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले भाग लिन सक्नेछन्। सहभागी हुन नेपाली नागरिकता वा परिचयपत्र आवश्यक पर्नेछ भने कथा पूर्ण रूपमा मौलिक, अप्रकाशित र अनिवार्य रूपमा कर्णाली क्षेत्रको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित भई नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। कथाको शीर्षक सहित ३ देखि ५ हरफको मर्म (लगलाइन) शीर्ष स्थानमा राखी एमएस वर्ड (MS Word) मा टाइप गरिएको कम्तीमा ३ पेजको सारांश (Synopsis) वा बढीमा ७ पेजको विस्तृतीकरण (Development of Idea) पेस गर्नुपर्ने नियम तय गरिएको छ। सहभागीहरूले आफ्नो परिचयपत्र र कथा सुरक्षित गर्न दिएको अनुमतिपत्रसहित महोत्सवको आधिकारिक इमेलहरूमा परिमार्जित अन्तिम म्याद आगामी २०८३ मंसिर १४ गते (३० नोभेम्बर २०२६) भित्र आफ्नो सिर्जना पठाइसक्नुपर्नेछ।

प्राप्त कथाहरूको नतिजा आगामी २०८३ पुष १६ गते (३१ डिसेम्बर २०२६) प्रकाशन गरिनेछ भने छनोटमा परेकाहरूलाई २०२६ कै चौथो महोत्सवको आयोजना समयमा चलचित्र स्क्रिप्ट लेखन तालिम प्रदान गरिनेछ। महोत्सव सचिवालयले कर्णालीको माटो, संस्कृति र समाजको जीवन्त कथालाई विश्वमाझ पुर्‍याउने यस महाअभियानमा आफ्नो अमूल्य सिर्जनासहित सहभागी हुन सम्पूर्ण कथाकारहरूमा आह्वान गर्दै विस्तृत जानकारी तथा कथा पठाउनका लागि आधिकारिक वेबसाइट र इमेल ठेगानाहरू प्रयोग गर्न आग्रह गरेको छ।
सोही कार्यक्रममा कर्णाली क्षेत्रको कथा रहेको सिर्जु शाहद्वारा लिखित पुस्तक ‘बैकिनी’ पनि सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu