‘मिस्टर एण्ड मिस एम्पेरर’ को काठमाण्डौ फिनाली श्रावण ३१ मा हुने



काठमाण्डौ। ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले आयोजना गर्न लागेको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौको लागि ग्राण्ड फिनाली श्रावण ३१ गते हुने भएको छ । फिनाली प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने बताईएको छ ।

काठमाण्डौमा हुने फिनालीमा चर्चित मोडल निती शाह, नायक गौरव पहारी, चलचित्र निर्देशक अमरदीप सापकोटा लगायत निर्णायकको रुपमा रहेका छन् । उक्त कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका बिशिष्ट व्यक्तित्वहरु तथा सामाजिक कार्यकर्ताहरुको उपस्थिती रहने बताईएको छ ।

यूवा कलाकारहरुको समेत सहभागिता रहेको उक्त कम्पनीले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो । यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् भने अन्य केहि कलाकर्मीले साथ दिईरहेका छन् ।

देशभरका प्रतिभालाई नेपाली चलचित्र तथा संगीत क्षेत्रमा बिशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाण्डौको फिनाली पछि देशभरका अन्य नौ शहरमा अडिशन हुनेछ । प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।

दश वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ ।

काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । दशवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।

यतिबेला हेटौडा र चितवनको लागी अडिशन फारम खुल्ला गरिएको बताईएको छ । प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई ‘Emperor <space> Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu