चलचित्र ‘कथा काठमाण्डू’ सँगै गरेपछि प्रेममा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फेरि औँठी साटेका छन् । शनिवार काठमाडौंमा रहेको पाँचतारे होटल द्वारिकामा पारिवारिक समारोहका बीच दुवैले दोस्रो पटक एकअर्कालाई औँठी पहिराए ।
गएको महिना मात्र यी दुईले इन्गेजमेन्ट गरेका थिए । पुनः प्रियंका र आयुष्मानले औँठी साट्दा दुवैले विश्वास गर्ने सिमित चलचित्रकर्मीहरुको मात्र उपस्थिति थियो ।

रियल लभ कपललाई बधाई दिन दीपकराज गिरी, दीपाश्री निरौला, वर्षा राउत, संजोग कोइराला, स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायत पुगेका थिए । प्राप्त जानकारी अनुसार, प्रियंका र आयुष्मानको विवाहको डेट अर्को वर्षलाई तय गर्ने तयारी चलिरहेको छ ।
दोस्रो पटक औँठी साटासाट गर्दैगर्दा मख्ख देखिएका आयुष्मान र प्रियंकाले एकै रंगको पहिरन लगाएका थिए । प्रियंकाले खरानी रंगको लेहगा लगाएकी थिइन् भने आयुष्मान सुटमा ठाँटिएका थिए ।






