द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड साइन्सद्वारा ९१ औं अस्कर अवार्ड समारोह सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुने भएको छ ।
उक्त पुरस्कार प्रतियोगितामा सहभागी गराउन ‘विदेशी चलचित्र छनोट समिति (नेपाल) लाई एकेडेमीले तोकिएका सबै मापदण्ड पुग्ने चलचित्र प्रतिस्पर्धी रूपमा सिफारिस गर्न आग्रह गरेको छ ।
अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई संथाले चलचित्र भदौ २९ गते शुक्रबारसम्म समितिको सचिवालयमा दर्ता गराउन आग्रह गरिएको छ ।
प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।
अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा मात्र नेपाली चलचित्र अस्करका लागि पठाइनेछ ।
विमल पौडेल अध्यक्ष रहेको नेपालको अस्कर छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप कुमार उपाध्याय, राजेन्द्र शलभ, राजुबिक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।