टिभीमा जितुको ‘मुन्द्रेको कमेडी क्लब’



हास्यकलाकार जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ लिएर टिभीमा फर्किएका छन् । ‘जिरे खोर्सानी’ बन्द भएपछि उनी दीपकराज गिरी र दीपाश्री निरौला क्याम्पबाट निर्माण हुने हरेक चलचित्रको हिस्सा हुँदै आएका थिए ।

स्केच कमेडी र सेलिब्रेटी टक सो फर्म्याटमा उनले ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्दैछन् । उक्त सो नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । कि इन्टरटेन्मेन्टले यसको निर्माण गर्नेछ ।


‘छक्का पञ्जा ३’ को सफलतासँगै टिभीमा कमब्याक गरेका उनले दर्शकको चाहनालाई मध्यनजर गर्दै नेपाली मौलिकपन बोकेको सो लिएर आएको बताए । शनिबार पाँचतारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै कमेडी क्लबको औपचारिक जानकारी गराइएको थियो । दीपकराज गिरी, शिव परियार, केकी अधिकारीलगायत कार्यक्रमको अतिथी बनिसकेका छन् ।

क्लबको अध्यक्षमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला रहेकी छन् । प्रति एपिसोड खिच्न ७ लाख लाग्ने कार्यक्रमको कन्सेप्ट भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने (हाल बन्द) ‘दि कपिल शर्मा सो’ बाट प्रभावित छ । क्लबकी अध्यक्ष दीपाश्री भन्छिन्, ‘विदेशी सो बाट प्रभावित भएपनि कमेडी क्लब नेपालीपनमा तयार हुन्छ ।’


‘मुन्द्रेको कमेडी क्लब’ लाई सञ्चारकर्मी रवि श्रेष्ठले निर्देशन गर्नेछन् । ‘जिरे खुर्सानी’ बाट स्थापित ‘मुन्द्रे’ नामबाट कार्यक्रमको नामाकरण गरिएको कमेडी क्लबका सञ्चालक जितु भन्छन्, ‘म टिभीबाट जन्मिएको कलाकार हुँ । चलचित्रबाट दर्शकमाझ पुगिरहे पनि धेरैको आग्रह टिभीमा फर्किनु पर्‍यो भन्ने थियो । र, एउटा नौलो र रमाइलो सो लिएर फर्किएको छु ।’

‘मुन्द्रेको कमेडी क्लब’ मार्फत जितुले मात्र हँसाउने छैनन् । राजाराम पौडेल, राजेन्द्र नेपाल, उमेश राई (फुलन्देकी आमा) लगायतका कलाकारहरु पनि टिममा छन् । सो कतिवटा भागसम्म प्रशारण हुने अहिलेसम्म तय भएको छैन । यस विषयमा जितु थप्छन्, ‘दर्शकको माग, व्यापार र रुचाईमा भर पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu