
काठमाडौं – निर्देशक परिच्छेद सेनको चलचित्र ‘महाराजधिराज’को कलाकार टोली झनै बलियो बन्दै गएको छ। केही दिनअघि मात्र अभिनेत्री पूजा शर्मालाई भित्र्याएको निर्माण पक्षले अब अर्का अभिनेता सुशील सिटौलालाई पनि मुख्यमध्येको एक महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेको छ। नेपाली रजतपटमा एक अब्बल तर ‘अन्डररेटेड’ अभिनेताका रूपमा चिनिने सिटौलाको प्रवेशसँगै चलचित्रको कास्टिङ लाइनअप अन्तिम चरणमा पुगेको र थप आकर्षक बनेको छ।
पिरियड ड्रामाको झल्को दिने यस चलचित्रमा सुशीलका साथै मुख्य भूमिकामा पुष्प खड्का र पूजा शर्मा देखिनेछन्। नयाँ र पुराना पुस्ताका कलाकारहरूको संयोजन रहने यस चलचित्रमा केकी अधिकारी, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, हेमन्त बुढाथोकी, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेल जस्ता चर्चित अनुहारहरूको बाक्लो जमघट रहनेछ। निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस सिनेमामा अन्य करिब ८० जना कलाकारले समेत अभिनय गर्ने निर्माण पक्षले जानकारी दिएको छ।
यसै वैशाखको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको ‘महाराजधिराज’को पहिलो चरणको सुटिङ सुनसरीस्थित श्रीलंका टापुबाट सुरु हुनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक तथा रमणीय स्थलहरूमा बाँकी दृश्य कैद गरिने योजना छ। नवराज थापाले क्यामेरामा उतार्ने यस चलचित्रको कथा स्वयं निर्देशक सेनले नै लेखेका हुन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन्। विष्टले जम्बो र बलियो स्टारकास्ट अनुसार नै चलचित्र पनि उत्कृष्ट र दमदार बन्ने दाबी गरेका छन्। रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माता रहेको यस चलचित्रलाई आगामी दसैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने लक्ष्य निर्माण टोलीले राखेको छ।




