‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार आयुष केसीलाई



स्व. बासुदेव कोइराला मुनालको ७० औं जन्म जयन्तीको अवसरमा बाल गायक आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको छ । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हाँसिल गरेका बाल गायक रिमाललाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कृत गरे ।

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए । नौं वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो ।

कार्यक्रममा मन्त्री विष्टले बासुदेव मुनालले बाल साहित्यमा पुर्याएको योगदानको कदर गर्दै देशले सधैं सम्झने व्यक्तिको रुपमा प्रशंसा गरे । उनी आफू पनि स्व. मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको बताए । स्व. बासुदेव मुनालको ७०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश तथा बासुदेव मुनाली बालसखा सुशीला कार्की पनि उपस्थित भएकी थिइन् । स्व. मुनाल विराटनगर रहँदा कार्की र मुनालले एउटै विद्यालय र क्याम्पसमा अध्ययन गरेका थिए ।

स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका ईच्छा बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनबाट पूरा गर्ने बताए । पितालाई सम्झिँदै कार्यक्रममा उनले भने, ’बुबाले धेरै सपनाहरु देख्नु भएको थियो । ’मुनाल साँझ’ गर्ने, कृतिहरु प्रकाशन गर्ने र सबैभन्दा ठूलो सपना आफ्नो नाममा पुरस्कार प्रदान गर्ने थियो । उहाँको त्यो सपनामध्ये एउटा सपना पूरा गरेका छौं । आउने पुस्ताले बासुदेव कोइराला ’मुनाल’ सम्झन हामीले अरु कार्यक्रमहरु पनि गर्नेछौं ।’

कार्यक्रममा स्व. मुनालको बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो, जहाँ रक्षामन्त्री इश्वर पोखरेल, बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गीतकार डा. कृष्णहरी बराल, कलाकार दीपकराज गिरी, सञ्चारकर्मी नवराज लम्साल, श्रम मन्त्री गोकर्ण विष्टलगायतले उनले रेडियोमार्फत् बाल साहित्य र गायन क्षेत्रमा र्पयाएको योगदानको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu