
काठमाडौं – घरेलु बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन सफलतापूर्वक पूरा गरेको छ। बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले देशभरका ३० भन्दा बढी हलहरूमा ५१औँ दिनको माइलस्टोन पार गरेको हो।
आफ्नो व्यावसायिक सफलताको खुसीयालीलाई निर्माण टोलीले सामाजिक सेवामार्फत मनाएको छ। ५१औँ दिनको अवसरमा ‘परान’ टिम बुढानीलकण्ठस्थित पवित्र समाजसेवा नेपाल पुगेर त्यहाँ आश्रित ६५ जना अनाथ बालबालिका तथा वृद्ध वृद्धाहरूलाई न्यानो कपडा वितरण गरेको छ।
आश्रमकी सञ्चालिका दीक्षा चापागाईँले चलचित्र टोलीको यस कदमप्रति आभार व्यक्त गरिन्। उनले केही समयअघि आश्रमका बालबालिकालाई चलचित्र देखाएको स्मरण गर्दै भनिन्, “आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई फिल्मले निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ, त्यसैले पनि यो फिल्म सबैले हेर्नुपर्ने खालको छ।”

व्यावसायिक रूपमा पनि ‘परान’ले ऐतिहासिक सफलता चुमेको छ। निर्माता रञ्जित आचार्यका अनुसार चलचित्रले हालसम्म १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। यो कमाइसँगै ‘परान’ नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो सफल चलचित्र बन्न पुगेको छ।
निर्माण टोलीले आगामी साता एक विशेष कार्यक्रम आयोजना गरी नयाँ र महत्त्वपूर्ण घोषणा गर्ने तयारी समेत गरेको छ।
प्रदर्शनको सातौँ हप्तामा पुग्दा पनि ‘परान’ प्रतिको आकर्षण घटेको छैन। शनिवार मात्रै देशभरका हलहरूमा ३० भन्दा बढी शोहरू उपलब्ध थिए। ललितपुरको लबिम मलसहित उपत्यकाका चाबहिल, नयाँ बसपार्क र बानेश्वरका हलहरूमा दर्शकको चाप उच्च देखिएको छ। त्यस्तै, उपत्यकाबाहिर नेपालगन्ज, बुटवल, चितवन र इटहरी जस्ता सहरहरूमा पनि चलचित्रले अझै ‘हाउसफुल’ व्यापार गरिरहेको छ।
निर्देशक दीपक प्रसाद आचार्यले ५१ दिनसम्म दर्शकबाट पाएको यो मायाले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्।
चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, सुब्रत आचार्य र बुद्धि तामाङ लगायतका दिग्गज कलाकारहरूको सशक्त अभिनय रहेको छ।




