पोखरामा ‘जाइरा’को ओएसटीको लाईभ प्रस्तुती, मोफसल यात्रामा कलाकार



भदौ ६ गते रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार यात्रामा रहेको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरामा शुक्रबार दिनभर चलचित्रको टीमले प्रचार-प्रसारका विभिन्न कार्यक्रमहरु गरेको छ । प्रचार यात्रामा चलचित्रकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकारहरु सुजिता श्रेष्ठ र सम्राट मगर लगायत रहेका छन् ।

चलचित्रका कलाकारहरुको उपस्थितीमा लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरामा स्थायी बसोबास गर्ने कलाकार सम्राट मगरलाई सञ्चारकर्मीमाझ परिचित गराईएको थियो । ‘फिटनेस ट्रेनर’ सम्राटले यसै चलचित्रबाट चलचित्रमा डेब्यू गरेका हुन् । चलचित्रमा उनि जाइरा अर्थात नम्रता श्रेष्ठको कोचको भूमिकामा रहेका छन् ।

‘तपाईँले आँफैले लगानि गरेर जोखिम मानिने महिला प्रधान एक्शन चलचित्र बनाउने हिम्मत कसरी गर्नुभयो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै नायिका नम्रता श्रेष्ठले अरुले हिम्मत नगरेकोले आफुले एक्शन चलचित्र बनाउन हिम्मत गरेको बताईन् । ‘जाइरा’की निर्माता समेत रहेकी श्रेष्ठले आफुले यस प्रकारको भूमिकामा अभिनय गर्न सक्दिन भन्ने भ्रमलाई चिर्दै अभिनय गरेको बताईन् ।

कुनै पनि हिसाबले आफु फाइटर जस्तो नदेखिने भएपछि आठ महिना लामो तालिम लिएर मार्शल आर्टका सबै फर्म सिकेको श्रेष्ठले बताईन् । मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केहि अनौठो लाग्न सक्ने बताउँदै उनले चलचित्र राम्रो बनेको खण्डमा सफल हुनेमा बिश्वस्त देखिइन् । पहिलो पटक यस प्रकारको भूमिकामा अभिनय गरेकी नम्रताले स्पोर्टस ड्रामा ‘जाइरा’ एक्शन मन पर्ने दर्शक मात्र नभएर सबै दर्शकले मन पराउने बिश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते चलचित्र हेरेपछि उक्त राज खुल्ने बताए । अग्रहरीले ‘जाइरा’मा आफु नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केहि ग्ल्यामर देखिएको प्रष्ट्याए । उनले चलचित्रमा पनि स्वभावत: ग्ल्यामर देखिने खुलाए ।

त्यस्तै, पोखरामै ‘टम्बल वीड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’को प्रस्तुती दिएको छ । लेकसाइडको रोलिङ्ग स्टोन रक बारमा बिशेष प्रस्तुती दिँदै ब्याण्डले चलचित्रको ओएसटी प्रस्तुत गरेको हो । उक्त ओएसटी इन्टरनेटमा भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । चलचित्रको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोहि प्रस्तुतीको लागि पोखरा पुगेको थियो ।

लेकसाइडमा नै रहेको अल्टिच्युड लञ्जमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । यसैगरी, पोखराका स्थानिय सञ्चारमाध्यमहरुमा समेत पुगेको ‘जाइरा’ टीम ट्रेड मलमा रहेको चलचित्र हल तथा मिड टाउन चलचित्र हल तथा अन्य सपिङ्ग कम्प्लेक्समा दर्शकसामु साक्षात्कार गर्न पुगेको थियो । अन्य केहि शहरहरुमा समेत ‘जाइरा’ टीम प्रचारको लागि पुग्नेछन् ।

आशुतोष राज श्रेष्ठले निर्देश गरेको ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu