
काठमाडौं – नेपाली टेलिभिजन रियालिटी शोहरूमा छुट्टै छाप छोड्न सफल निर्देशक अमन प्रताप अधिकारीको निर्देशनमा कवितात्मक रियालिटी शो ‘द पोएट आइडल जुनियर’को ग्लोबल डिजिटल अडिसन सुरु भएको छ। ‘द पोएट आइडल’का अघिल्ला दुई सिजनको अपार सफलतापछि निर्माण पक्षले नवप्रतिभालाई लक्षित गर्दै यो जुनियर संस्करण लिएर आएको हो।
नेपाली टेलिभिजन उद्योगमा एक दूरदर्शी र गतिशील निर्देशकका रूपमा चिनिने अधिकारीले यसअघि चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज ‘हिमालय रोडिज’, ‘को बन्छ करोडपति’, सामाजिक विषयवस्तुमा आधारित ‘ऐना’, साङ्गीतिक कार्यक्रम ‘कृपा अनप्लग्ड’ तथा चर्चित अन्तर्वार्ता शो ‘कठघरा’ जस्ता सफल कार्यक्रमहरूको निर्देशन गरिसकेका छन्। विश्वकै पहिलो कवितात्मक रियालिटी शो ‘पोएट आइडल’को परिकल्पना तथा निर्देशन गरेर नेपाली साहित्यलाई टेलिभिजनको पर्दामा नयाँ र ग्ल्यामरस उचाइ दिएका उनी अब बालबालिका तथा किशोर किशोरीको प्रतिभा प्रस्फुटन गराउन तयार भएका छन्।
आयोजकले सार्वजनिक गरेको जानकारी अनुसार यस ‘ग्लोबल डिजिटल अडिसन’मा सहभागी हुन इच्छुक प्रतियोगीको उमेर १८ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ। अडिसन दिन चाहनेले आफूले कविता वाचन गरेको भिडियो ह्वाट्सएप नम्बर ९८०८११६६४४ वा इमेल [email protected] मार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ। पठाइने भिडियोको समय सीमा न्यूनतम एक मिनेटदेखि अधिकतम तीन मिनेटसम्मको हुनुपर्नेछ। त्यसै गरी, वाचन गरिने कविता प्रतियोगी आफैँले लेखेको अर्थात् पूर्ण रूपमा मौलिक हुनुपर्नेछ र भिडियोमा कविता वाचन गर्दा प्रतियोगीको अनुहार स्पष्ट देखिनुपर्ने नियम तय गरिएको छ।
प्रतियोगितामा प्रस्तुत गरिने कविता मुख्यतया नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। यद्यपि, कविलाई ८० प्रतिशत नेपाली र २० प्रतिशत अन्य भाषाको प्रयोग गर्ने छुट पनि दिइएको छ जसलाई आयोजकले आधिकारिक मान्नेछ। यस डिजिटल अडिसनका लागि भिडियो पठाउने अन्तिम म्याद आगामी २०८२ साल चैत्र १५ गतेसम्म तोकिएको छ। निर्माण पक्षले “आफ्नो प्रतिभालाई विश्वमाझ चिनाउने यो सुनौलो अवसरलाई नगुमाउनु होला” भन्दै विश्वभर छरिएर रहेका साहित्य प्रेमी नवप्रतिभाहरूलाई सहभागिताका लागि आह्वान गरेको छ।


