
काठमाडौं – यही चैत १३ गते शुक्रवारदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ सुरु भएको छ। प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले देशव्यापी रूपमा हलहरूबाट टिकट बुकिङ खुला गरेको हो।
चलचित्र केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको यस फिल्मले मूलतः पारिवारिक कथा उठान गरेको छ। तीन दाजुभाइबिचको आत्मीय सम्बन्ध र उनीहरूका बिचमा आउने मनमुटाब तथा उतारचढावलाई यस चलचित्रमा निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ। विशुद्ध सामाजिक तथा हास्य प्रधान विषयवस्तुमा आधारित रहेकाले सम्पूर्ण परिवार एकैसाथ बसेर फिल्मको मज्जा लिन सक्नेछन्।
मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रमा नेपाली रजतपटका चलेका तथा नवोदित कलाकारहरूको ठुलो टोलीले अभिनय गरेको छ। चलचित्रको पर्दामा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत र फलित राईको मुख्य भूमिका देख्न सकिन्छ। त्यसैगरी, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), यादव देवकोटा (सरापे), विकास चापागाईँ लगायतका चर्चित हास्य कलाकारहरूको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछ। यसका अलावा सुष्मा निरौला, अञ्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ लगायतका कलाकारहरू पनि पर्दामा देखिनेछन्।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता साजित महत हुन् भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले यसको निर्माण गरेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे सह–निर्माताका रूपमा रहेका छन्। शिवम अधिकारीले यसको पटकथा तथा संवाद तयार पारेका हुन्। शिव ढकालको छायाङ्कन र बनिष शाहको सम्पादन रहेको चलचित्रमा साप शक्ति र बाबुल गिरीको सङ्गीत सुन्न सकिन्छ। फिल्ममा कमल राई र इन्द्रदेव महर्जनको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ।


