नयाँ नेपाली चलचित्र हेर्न चाहनेका लागि ‘भिडियो पसल’ नामक एप्स सञ्चालनमा आएको छ । यसको सम्पूर्ण व्यवस्थापन अधिकार ओएसआर डिजिटलसँग सुरक्षित छ । यो एप्स अन्य देशमा बसोबास गर्ने व्यक्तिहरुले पनि प्रयोग गर्न सक्ने ओएसआरका प्रबन्ध निर्देशक ओम अग्रवालले जानकारी दिए । नेपाली चलचित्र क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन यो एप्स सञ्चालनमा ल्याएको उनले बताए ।

हलमा प्रदर्शन भएकै दिन ‘भिडियो पसल’ मा पनि चलचित्र रिलिज गर्ने योजना ओएसआरको छ । तर, हाललाई रिलिज भइसकेको चलचित्रलाई विश्वभरीका दर्शकसामु एकै पटक पुर्याउने लक्ष्यसहित यो एप्सको सुरुवात गरिएको हो । यसमा न्युनतम शुल्क तिरेर नयाँ नेपाली चलचित्रहरु हेर्न सकिनेछ । केही चलचित्र भने निःशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।
मोबाइल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली चलचित्र हेर्न सकिने जनाइएको छ । निर्माताहरुको लागि यो नयाँ बजार हुनसक्ने ओएसआरका प्रतिनिधी रुपेन्द्र खड्गी बताउँछन् । यसबाट प्राप्त हुने शेयर निर्माण कम्पनी र निर्माताबीच आपसी सहमतिमा बाँडफाँड हुने उनको भनाई छ । उनका अनुसार, ‘भिडियो पसल’ बाट चलचित्र कपि हुने र डाउनलोड हुने सम्भाव्यता पनि शुन्य छ ।




