‘आइएम ट्वान्टी वान’ मा धिरजसँग रोमान्स गर्दै जसिता



अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई चलचित्रमा काम गरिसकेकी अभिनेत्री जसिता गुरुङले तेस्रो चलचित्रको रुपमा ‘आइएम ट्वान्टी वान’ रोजेकी छन् । लामो समयदेखि यो चलचित्रमा उनी हुने चर्चा थियो । चलचित्रलाई दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ की निर्देशक रेनशा वान्तवा राईले निर्देशन गर्दैछिन् ।

निर्देशक वान्तवाका अनुसार, यसअघि जसितासँग मौखिक सहमति भए पनि केही दिन अगाडि मात्र कागजी सम्झौता भएको हो । वर्कसपका लागि जसिता केही दिनमा यूकेबाट नेपाल ओर्लिने उनले बताइन् । चलचित्रमा प्रमुख भूमिकामा अनुबन्ध भएका अभिनेता धिरज मगर अहिले नेपालमा नै छन् । उनी यूके रैनाथे हुन् । ‘इन्टु मिन्टु लण्डनमा’ बाट उनले अभिनयमा डेब्यू गरेका थिए ।


धिरज र जसिता पूर्व प्रेम-प्रेमिका रहेको चर्चा छ । तर, दुबैले यसको खण्डन गरिसकेका छन् । डेब्यू चलचित्रबाटै राम्रो सम्भावना देखाएका धिरज र दुई चलचित्रबाट राम्रो फ्यान फलोइंग कमाएकी जसिताको जोडी पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ । पूर्ण रुपमा लभस्टोरी हुने चलचित्रलाई प्रज्वल सम्सेर जबराले निर्माण गर्नेछन् ।

चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । धिरजले स्क्रिनमा दुई अभिनेत्रीसँग रोमान्स गर्नेछन् । गोप्य स्रोतले दिएको जानकारी अनुसार, ‘आइएम ट्वान्टी वान’ का लागि अभिनेत्री स्वस्तिमा खड्कासँग कुरा भइरहेको छ । उनले चलचित्रको स्क्रिप्ट सुनिसकेकी छन् । तर, निर्णय दिएकी छैैनन् । २ महिना वर्कसप भएपछि चलचित्रको छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu