आउँदो मंसिर ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘च च हुई’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले अनस्क्रिन रोमान्स गरेका छन् । रोमकोम जनरामा निर्माण भएको चलचित्रको मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र मिरुनालाई एकअर्काको अंगालोमा प्रेमिल मुद्रामा देख्न सकिन्छ ।

दुईको केमेस्ट्री गजबको देखिएको छ । झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण पक्ष यो गीतलाई केही दिनमै सार्वजनिक गर्ने तयारीमा छ । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । भने, राजनकै संगीत छ । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।

साम्तेन भुटिया निर्देशित यो चलचित्रलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यही चलचित्रमार्फत् निर्माणमा आएका हुन् । भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् ।

निर्माता लामाले चलचित्र राम्रो बनेको बताउँदै नेपालको सुन्दरतालाई पनि देखाउने कोशिश गरेको बताए । चलचित्रका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको फिल्ममा कोरियोग्राफी छ । अभिनेता आर्यन आफूलाई चलचित्रमा रोमान्टिक र कमेडी अन्दाजमा देख्न सकिने बताए । अभिनेत्री मिरुना चलचित्रलाई लिएर आफू उत्साहित रहेको बताउँछिन् ।

फरक धारका चलचित्रमा रमाइरहेका निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल चलचित्र बनाउने प्रयत्न गरेको बताए । उनले भने, ‘चलचित्र रोमान्टिक कमेडी हो । मैले निर्देशन गरेको पछिल्ला चलचित्रको तुलनामा यो पूरै फरक छ । आर्यनलाई रोमान्टिक र कमेडी अवतारमा दर्शकले देख्नुहुनेछ ।’ चलचित्रमा भोलाराज र आर्यन साथीको भूमिकामा छन् ।




