‘पासवर्ड’ प्रिमियरमा सहभागी हुन सन्नी नेपाल आउने



बलिउडमा आफ्नो राम्रो स्थान बनाएकी अभिनेत्री सन्नी लियोनीले पहिलो पटक नेपाली चलचित्रमा काम गरेकी छन् । उनले चलचित्र ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । दुई महिना अगाडि यूट्युब रिलिज भएको यो गीतलाई अहिलेसम्म ४० लाखभन्दा बढीको नजर परिसकेको छ । नेपाली ३ करोड बुझेर सन्नीले यो गीत गरेको निर्माण टिमले बताएको छ ।

सन्नी जोडिएसँगै चर्चामा रहेको चलचित्र ‘पासवर्ड’ यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ । फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू चलचित्रको प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको जानकारी दिएकी छन् ।


‘नमस्ते नेपाल । म सन्नी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर चलचित्र ‘पासवर्ड’ को प्रमोसनल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु’, उनले भिडियोमा भनेकी छन् । सन्नीले चलचित्र निर्माण गरेको ब्यानर एबी इन्टरनेसनललाई सफलताको शुभकामना पनि दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ ।

चलचित्रको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । उनी सर्त बमोजिम नेपाल आउने भएपछि चलचित्रको प्रिमियरका लागि विशेष तयारी थालिएको छ । यो चलचित्रमा उनको आइटम नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ । चलचित्रको अघिकांश छायांकन लण्डनमा भएको हो ।

अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के. थापा सह-निर्माताको रुपमा रहेका छन् । सौरभ लामाले खिचेको चलचित्रका निर्देशक सम्राट बस्नेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu