निर्माता गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘लिलिबिली’ को हिसाब-किताब नदेखाएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले गएको एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा बुधबार उनलाई कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत पुर्याएको थियो । अदालतले अनुसन्धानका लागि २ दिन म्याद थप गरेपछि उनलाई टेकु लगिएको निर्माता खड्काले जानकारी दिएका छन् । निर्माता शाही ‘लिलिबिली’ का निर्माता र वितरक हुन् ।
उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । चलचित्र ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माता द्वय मिलन र सुदीपले उजुरी दिएका थिए । विवादित छविका निर्माता शाही एक समयका हिरो हुन् भने अहिलेका चलचित्र वितरक र निर्माता हुन् ।




