ह्याप्पी बर्थ-डे रेखा थापा



अभिनेत्री रेखा थापाको आज जन्मदिन । एक समयकी ‘नम्बर वान अभिनेत्री’ उनको जन्म मोरङमा भएको हो । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार, गायिका पनि हुन् । पूर्व पति तथा निर्माता छविराज ओझाको चलचित्र ‘हिरो’ बाट अभिनय यात्राको थालनी गरेकी उनको पछिल्लो चलचित्र ‘मालिका’ हो ।

कुनै समय नेपाली चलचित्रकी उनी निर्विकल्प अभिनेत्री थिइन् । उनलाई लिएपछि चलचित्रले बक्सअफिसमा हिटको व्यापार गर्ने विश्वास मेकरमा थियो । तर, पछिल्लो समय उनको चार्म र स्टारडममा कमी आएको छ । नयाँ छिमलका अभिनेत्रीको प्रवेश बाक्लिएसँगै उनको एक दशक लामो राज लगभग तोडिएको छ । एक्सन भूमिकामा निकै रुचाइएकी उनले २ सयको आसपासमा चलचित्र गरेकी छन् । उनी अभिनीत प्रायः चलचित्र बक्सअफिसमा सफल छन् ।

रेखा अभिनीत ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘कस्ले चोर्‍यो मेरो मन’ जस्ता चलचित्रलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ, जुन फिल्मले व्यापारिक सफलता पनि हासिल गरेका छन् । पर्दामा अभिनेत्री थापाको प्रतिष्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग उनको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा कसको जित भयो ? त्यो ईतिहास बोल्नेछ ।


पर्दामा निकै सफल रहेकी उनको बैबाहिक जीवन भने सुखद रहन सकेन । चलचित्र ‘हिरो’ खेले लगत्तै निर्माता ओझासँग उनले लगनगाँठो कसेकी थिइन् । तर, वैचारिक मतभेदका कारण करीब १२ वर्षपछि रेखा र छविले छुटिने निर्णय लिए । छविसँग छुटिएपछि उनले आफ्नो नाममा दर्ता भएको कम्पनी रेखा फिल्मस्बाट प्रत्येक वर्ष एक चलचित्र निर्माण गर्दै आइरहेकी छन् । यस वर्ष उनी नयाँ चलचित्र बनाउने तयारीमा छिन् ।

तीन चलचित्रको आफैंले क्याप्टेनसिप सम्हालेकी उनी अभिनयमा झैँ निर्देशकको रुपमा भने जम्न सकिनन् । उनी निर्देशित चलचित्र ‘हिम्मतवाली’ जेनतेन सफल भए पनि ‘रुद्रप्रिया’ र ‘मालिका’ ले बक्सअफिसमा फ्लपको व्यापार गरेका थिए । त्यसैले यसपटक उनले पुनः चलचित्रको निर्देशन गर्ने जोखिम मोल्ने हिम्मत जुटाउन सकिनन् । नयाँ फिल्मको निर्देशन गर्ने जिम्मा ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राईलाई सुम्पिएकी छन् ।

करिअरको उत्कर्षमा रहँदा अभिनेत्री थापाले एमाओवादीमा प्रवेश गरिन् । गएको दुई वर्ष अगाडि माओवादी छाड्दै उनले कमल थापा नेतृत्वको राप्रपा नेपाल चुनिन् । यो पाटीमा पनि उनी लामो समय टिक्न सकिनन् । गएको वर्ष उनले पशुपति शम्शेर राणा समुहको राप्रपा प्रजातान्त्रिक रोजिन् । एक समय चलचित्रमा छोटा पहिरन लगाएका कारण उनको निकै चर्चा हुन्थ्यो । उनलाई नेपाली चलचित्रमा पहिलो पटक छोटा कपडामा अभिनय गर्ने नायिका समेत भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu