अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘जाइरा’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । नेपाली चलचित्रले विरलै पाउने सोलो रिलिजको अवसर समेत पाएको छ । योसँग भिड्न नेपाली र बलिउड कुनै चलचित्र हलमा छैनन् । यस चलचित्रले सोलो रिलिजको फाइदा उठाउने विश्वास गरिएको छ । सोलो रिलिजमा हल संख्या र दर्शक बाँडिँदैन, जसको प्रत्यक्ष प्रभाव चलचित्रको व्यापारमा पर्छ ।
‘जाइरा’ मा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा चलचित्रप्रति कौतुहलता बढाएको थियो । चलचित्रका लागि उनले आफ्नो कपाल तिलाञ्जली दिएकी थिइन् । चलचित्रको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि धेरैको ध्यान खिच्न सफल भएको थियो ।

‘जाइरा’ मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ ।
अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । ‘जाइरा’ मा एक्सन अवतारमा प्रस्तुत भएकी अभिनेत्री नम्रताले आफूले कहिल्यै एक्सन चलचित्र गर्नेबारे नसोचेको बताउँछिन् । निर्देशक श्रेष्ठले कन्भिन्स गराएपछि आफू यो चलचित्र गर्न तयार भएको उनको भनाई छ ।




