अभिनेत्री नम्रता श्रेष्ठ स्टारर एक्ससन लभस्टोरी चलचित्र ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो । चलचित्रमा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । सोलो रिलिजको दुर्लभ संयोग पाएको यस चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । पहिलो पटक उनले एक्सन भूमिका गरेकी हुन् ।



नम्रतासँगै यस चलचित्रमा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा नम्रता र अनुप श्रीमान्-श्रीमतीको भूमिकामा देखिएका छन् । भने, प्रमोद नेगेटिभ भूमिकामा छन् । उनी चलचित्रका मेरुदण्ड हुन् । उनको भूमिका निकै सशक्त छ । अभिनय पनि जीवन्त पस्किएका छन् ।

शुक्रबार बिहान राजधानीको लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा ‘जाइरा’ का कलाकार, निर्माता र निर्देशकले सञ्चारकर्मीसँग बसेर चलचित्र हेरे । स्पेशल शोमा केही फिल्मकर्मीहरु पनि उपस्थित थिए । चलचित्रलाई सञ्चारकर्मीबाट मिश्रित प्रतिक्रिया मिलेको छ । अभिनेत्री नम्रताले सञ्चारकर्मी र चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् । उनी दर्शकलाई पनि चलचित्र मन पर्नेमा विश्वस्त देखिइन् ।

१ घण्टा ३५ मिनेट लम्बाईको चलचित्रले सिक्वेलका लागि ठाउँ बाँकी राख्दै विट मारेको छ । चलचित्रको अन्तिममा ‘टु वि कन्टिन्यू’ भनेर लेखिएको छ । ‘के चलचित्रको सिक्वेल बन्छ ?’ सञ्चारकर्मीको प्रश्नमा निर्देशक श्रेष्ठले भने- ‘सिक्वेल बन्ने वा नबन्ने भन्ने कुरा दर्शकमा निर्भर छ । दर्शकबाट राम्रो प्रतिक्रिया मिल्यो र चलचित्रको व्यापार पनि राम्रो भएको खण्डमा सिक्वेल बन्नेछ । त्यसका लागि हामीले स्क्रिप्ट पनि मोटामोटी तयार गरिसकेका छौं ।’



प्रशन्न गोपाली निर्मित चलचित्रमा अभिनेत्री नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकालाई जीवन्त अभिनयमा ढाल्न कुनै कसर छाडेकी छैनन् । अनुप, रेमन, श्रृजना, सुजता र सम्राटको अभिनय पनि चित्तबुझ्दो छ । निर्देशक श्रेष्ठ र निरोज महर्जनले चलचित्रको पटकथा तयार पारेका हुन् । प्रशन्न चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।




